Like us!
Follow us!

कस्ता कम्पनीका सेयर किन्दा लगानीकर्ता हुन्छन् मालामाल ?

कस्ता कम्पनीका सेयर किन्दा लगानीकर्ता हुन्छन् मालामाल ?

लगानी खबर, काठमाडौं - पछिल्लो समय सेयर बजारमा लगानीकर्ताहरु आकर्षित हुँदै गइरहेका छन् । बजारमा दिनहुँजसो नयाँ लगानीकर्ताहरु भित्रने क्रम बढ्दो छ । सेयर बजार प्रविधिमैत्री बनेसँगै यसमा लगानीकर्ताहरु झुम्मिन थालेका हुन् । पछिल्लो समय सेयर बजारका हरेक गतिविधि घर या अफिसमै बसेर अनलाइनको माध्यमबाट गर्न सकिन्छ

। जसका कारण लगानीकर्तालाई ब्रोकरकहाँ धाइरहनु पर्दैन । लगानीकर्ताले घर या अफिसबाटै सेयर बजारमा लगानी गर्न सक्छन् । सेयर बजार यस्तो ठाउँ हो, जहाँ लगानीकर्ताले घर या अफिसमै बसेर लगानी गरि मालामाल बन्न सक्छन् ।

तर सेयर बजारमा प्रवेश गर्नुअघि या प्रवेश गरिसकेपछि पनि लगानीकर्ताले धेरै कुरामा ख्याल गर्नुपर्ने हुन्छ । नत्र सेयर बजारबाट मालामाल बन्ने सपना क्षणभरमै तुहिन पनि सक्छ । लगानीकर्ताका लागि सेयर बजारमा धेरै विकल्पहरू छन् । कस्तो कम्पनी छान्ने ? कुन कम्पनीमा लगानी गर्ने ? कस्ता कम्पनीमा लगानी गर्दा छोटो समयमै धेरै मुनाफा कमाउन सकिन्छ ? यो विषयमा लगानीकर्ता चनाखो बन्नुपर्छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ सय ४० भन्दा बढी कम्पनीहरु सूचिकृत छन् । त्यसमा राम्रा कम्पनीहरु पनि धेरै छन् । लगानीकर्ताले राम्रो कम्पनी छान्न सक्नुपर्छ ।

सेयर टिप्स : लगानीकर्ताले जान्नै पर्ने आधारभुत कुराहरू

 नयाँ लगानीकर्ताहरुले सेयर बजारमा थुप्रै चुनौतीहरुको सामना गर्नुपर्ने हुन्छ । बजारमा ठूला लगानीकर्ताहरुले चलखेल गरिरहेका हुन्छन् । जसले गर्दा साना तथा नयाँ लगानीकर्ताहरु फस्ने या डुब्ने डर हुन्छ । सेयर बजारमा कसरी राम्रो प्रतिफल हात पार्ने ? छोटो समयमै कसरी मालामाल बन्ने ? कस्तो कम्पनी छनोट गर्ने ? हामी तपाईहरुलाई सेयर बजार सम्बधि केहि टिप्स दिँदै छौं :

१.कम्पनीको व्यवस्थापन : लगानीकर्ताले कुनै पनि कम्पनीमालगानी गर्नुपूर्व कम्पनीको व्यवस्थापन पक्षको बारेमा पर्याप्त जानकारी राख्नुपर्छ । संस्थ बलियो बनाउनको लागि संस्थाको व्यवस्थापन पक्षले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । राम्रो व्यवस्थापनका साथ संचालित कम्पनीहरु सफल हुने संभावना बढि रहन्छ । यस्ता कम्पनीहरु बलियो हुन्छन् र व्यवस्थित पनि हुन्छन् । कम्पनी सफल हुनु, व्यवस्थित हुनु र बलियो हुनु भनेको लगानीकर्ताको लगानी सुरक्षित हुनु पनि हो । साथै कम्पनीको छनौट गर्दा त्यो कम्पनी कस्तो व्यक्तिले नेतृत्व गरेको छ भन्नेतर्फ पनि लगानीकर्ताले ध्यान दिनु जरुरी रहन्छ । यदि कम्पनीको व्यवस्थापन पक्ष कमजोर छ भने त्यस्तो कम्पनीमा लगानी गर्नु लगानीकर्ताको लागि जोखिम हुन्छ । त्यसैले लगानीकर्ताले कुनै पनि कम्पनीमा लगानी गर्नुपूर्व कम्पनीको व्यवस्थापन पक्ष कस्तो छ यसबारे पर्याप्त अध्ययन गर्नुपर्छ ।

२. बैकिङ क्षेत्र :  बैकिङ क्षेत्रमा लगानी गर्दा लगानीकर्ताहरुले ROE (Return On Equity) र उत्पादन क्षेत्रमा लगानी गर्दा ROE ROCE(Return On Capital Employed) लाई ध्यान राख्नु पर्दछ । ROE भनेको कम्पनीले लगानीकर्ताहरुको लगानीबाट कति प्रतिफल हासिल गर्यो भन्ने हो भने ROCE भनेको कम्पनीले ऋणबापत प्राप्त लगानीले कति प्रतिफल हासिल गर्यो भन्ने हुन्छ । जुन कम्पनीले बढी प्रतिफल हासिल गरेको छ, त्यस्तो कम्पनीमा गरिएको लगानी बढी फलदायी हुन सक्छ ।

३. इपिएसः इपिएस भनेको कम्पनीको प्रतिसेयर आम्दानी हो । कम्पनीको प्रतिसेयर आम्दानीको अवस्था कस्तो छ भन्ने कुराको जानकारी लगानीकर्तालाइ हुनु पर्दछ । लगानी गर्दा कम्पनीको पछिल्ला बर्षहरुको प्रतिसेयर आम्दानीको अनुपात हेरी पहिलेका बर्षहरुभन्दा आम्दानी बढेको र बढ्न सक्ने कम्पनी छनौट गर्नु पर्दछ । सकेसम्म प्रतिसेयर आम्दानी बढि भएका कम्पनीहरुमा लगानी गरेमा त्यस्तो लगानीले बढि मुनाफा दिन सक्दछ ।

४. क्षेत्रको निर्धारण : लगानी गर्दा कुन अवस्थामा कुन क्षेत्रमा लगानी गर्ने भन्ने कुराको ज्ञान पनि लगानीकर्ताहरुमा हुनु पर्दछ । नेप्सेले कम्पनीको स्परुप र तिनको कामका आधारमा विभिन्न १३ उपसमूहमा विभाजन गरेको छ । नेप्सेले बैंकिङ्ग, व्यापार, होटल एण्ड पर्यटन, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट गरी उपसमूह छुट्याइएको छ ।

जस्तो, कुनै बैंकिङ क्षेत्रमा लगानी गर्दा बैंकहरुको निक्षेप संकलन र ऋण लगानीको अवस्था अध्ययन गर्नु पर्दछ । निक्षेप पनि बढेको र ऋण लगानी पनि बढेको अवस्था भनेको बैंकिङ क्षेत्रको लगानीको लागि उपयुक्त हुन सक्दछ भने बीमा कम्पनीहरुको जारी बिमा लेख संख्या र खुद बिमा शुल्क बढेको र दाबी भुत्तानी घटेको अवस्था बीमा कम्पनीमा लगानीका लागि उपयुक्त हुन जान्छ ।

सेयर टिप्स : सेयर भनेको के हो ? सेयर बजारमा कसरी प्रवेश गर्ने ?

५. पिइ रेसियो : कुनै पनी कम्पनीको पिई रेसियो कम्पनीको हालको प्रतिसेयर मूल्यलाई कम्पनीको प्रतिसेयर आम्दानीले भाग गरेर निकाल्ने गरिन्छ । कम्पनीको छनौट गर्दा सकेसम्म कम पिइ रेसियो रहेका कम्पनीको छनौट गर्नु पर्दछ । नयाँ लगानीकर्ताहरुले १५ भन्दा कम पिइ रेसियो भएका कम्पनीहरुमा लगानी गर्न सकेमा त्यो लगानी बढि सुरक्षित हुन सक्दछ ।

६. चुक्ता पूँजी : छोटो अवधिका लागि लगानी गर्न चाहने लगानीकर्ताहरुले सकभर चुक्ता पूँजी कम भएको कम्पनीमा लगानी गर्नु उचित हुन्छ । किनभने ठुला लगानीकर्ताहरुले यस्ता कम्पनीका सेयरहरु एकैपटक धेरै खरिद गरेर होल्ड गर्ने गर्दछन् । जसले गर्दा बजारमा कम्पनीको सेयरको आपूर्ति कम हुन जान्छ र सेयरमूल्य बढ्दछ ।

यसअर्थ लगानीकर्ताले चुक्ता पूँजी बढी भएका भन्दा कम चुक्ता पूँजी भएका कम्पनीमा लगानी गर्नु उचित हुन्छ । यस्ता कम्पनीमा अल्पकालीन रुपमा लगानी गर्नु उचित हुन्छ । दीघकालीन रुपमा यस्ता कम्पनीमा लगानी गर्दा भने कम्पनीको आधारभूत विश्लेषण गरेर मात्र लगानी गर्नु उचित हुन्छ ।

उदाहरणका लागि पछिल्लो केहि समयदेखि नेपाली सेयर बजारमा कतिपय नराम्रा वित्तीय विवरण भएका फाइनान्स कम्पनीहरुको पनि मूल्य वृद्धि भइरहेका छन् ।

सेयर टिप्स : दोस्रो बजारमा प्रवेश गर्नुअघि जान्नै पर्ने कुराहरू

समग्रमा, सेयरमा बजार घटबढ भईरहन्छ । त्यसिले लगानीकर्ता राम्ररी सुझबुझ गरेर मात्र लगानी गर्ने बानी बसाल्नुपर्छ । हल्लाको पछि लाग्दा लगानी डुब्ने र फस्ने डर बढी रहन्छ । कतिपयले आफूले कुनै कम्पनीको सेयर किनेपछि सो कम्पनीको बारे अफवाह पनि फैल्याउने गर्छ । त्यसैले आफ्नो स्वविवेक र अध्ययनले मात्र सेयर बजारमा लगानी गर्नुपर्छ ।  लगानी गर्नुपूर्व कम्पनीको आवधिक तथा वार्षिक प्रतिवेदनको अध्ययन गरी कम्पनीको कार्यसम्पादन स्थिति, आर्थिक स्थिति, व्यवस्थापन पक्ष तथा लगानीकर्तालाई प्रदानगरिएको प्रतिफल जस्ता महत्वपूर्ण कुराहरुको अध्ययन गर्नुपर्छ   । कुनैपनि कम्पनीको सेयर खरिद गरिसकेपछि  कम्पनीको गतिविधिहरु बारे निरन्तर जानकारी राख्नपर्छ  ।

राम्ररी अध्ययन गरेर मात्र सेयर बजारमा लगानी गर्ने हो भने लगानीकर्ताले छोटो समयमै राम्रो मुनाफा हासिल गर्न सक्छन् र लगानी फस्ने डर पनि कम हुन्छ ।

सेयर टिप्स : सेयर खरिदबिक्री गर्नुअघि जान्नै पर्ने कुराहरू

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।