सेयर टिप्स : दोस्रो बजारमा प्रवेश गर्नुअघि जान्नै पर्ने कुराहरू
लगानीखबर
शुक्रबार, २० चैत्र २०७७, १० : ४२
मा प्रकाशित
लगानी खबर, काठमाडौं - पछिल्लाे समय नेपालमा सेयर बजारतिर लगानीकर्ताहरूकाे आकर्षण बढिरहेकाे छ । अझ नयाँ लगानीकर्ता थपिने क्रम पनि बढ्दाे छ । लगानीकर्ताहरू धेरै मात्रामा आइपिओ प्रति आकर्षित हुने गरेका देखिन्छ । भर्खरै सेयर बजारमा प्रवेश गर्ने आइपिओ भर्नेहरूलाई दाेश्राे बजारकाे बारेमा ज्ञान नहुन सक्छ । त्यसैले आज हामी दाेश्राे बजारकाे बारेमा जानकारी दिनेछाैँ ।
दोस्रो बजार भनेको के हो ?
तपाईसँग भएको कम्पनीको सेयर तपाईलाई बिक्री गर्न मन लाग्यो अझ अर्को अर्थमा तपाईलाई पैसाको आवश्यक पर्यो, कम्पनी मन परेन वा कम्पनीले धेरै नाफा गरेर निकै ठूलो मुल्यवान कम्पनी बन्यो र सेयरको माग ह्वात्तै बढेर भाउ निकै उच्च भयो नाफा खान मन लाग्यो वा अरु केही कारणले तपाईलाई आफूसँग भएको सेयर बेच्न मन लाग्यो भने यस्तो सेयरको खरिद बिक्री हुने बजार नै सेयर बजार हो ।
कुनै पनि पब्लिक कम्पनीले पुँजी संकलनका लागि प्राथमिक बजारमा आईपिओ जारी गरेको १५-२० दिन भित्रमा लगानीकर्ताहरुलाई सेयर बाँडफाँड गर्दछ । सेयर बाँडफाँड गरेको ४-५ दिनमा प्राथमिक बजारमा जारी गरेको सेयरलाई नेप्सेमा सूचिकृत गर्दछ । प्राथमिक सेयरलाई नेप्सेमा सूचिकृत गरेपछि सेयर खरिदबिक्री गर्ने स्थानलाई दोस्रो बजार भनिन्छ, त्यही स्थान वा ब्रोकर कम्पनीबाट उक्त कम्पनीको सेयर खरिदबिक्री गर्न सकिन्छ ।
नेपालमा नेपाल स्टक एक्सचेञ्ज एकमात्र दोस्रो बजार हो । दोस्रो बजारमा सेयर खरिदबिक्री ब्रोकरको मध्यस्थतामा लगानीकर्ताबीच हुने भएकोले सेयर किनबेचमा कम्पनीसँग कुनै सम्बन्ध रहन्न । सेयरको किनबेच गर्दा धितोपत्र बोर्डबाट इजाजत प्राप्त ब्रोकर कम्पनीहरुमा गई उचित प्रक्रिया पूरा गरी खरिदबिक्री आदेश दिनुपर्दछ । यसै आदेशअनुसार ब्रोकरले सेयर किनबेच गरिदिने काम गर्छ । यसरी सेयर किनबेच गरिदिएबापत ब्रोकरले कानुनले तोकेबमोजिमको कमिसन लिने गर्छन् ।
ब्रोकर कम्पनी भनेका को हुन् ?
ब्रोकर भनेका धितोपत्र बोर्डबाट सेयरको कारोबार गर्न इजाजत प्राप्त संस्था हुन् । जसलाई धितोपत्र व्यवसायी पनि भनिन्छ । लगानीकर्ता र कम्पनीबीचको पुलको काम गर्ने निकायलाई ब्रोकर भनिन्छ ।
हाल नेपालमा ५० वटा ब्रोकर कम्पनी र तिनका ४७ वटा शाखाहरु नेपालका प्रमुख शहरहरुमा छन् । तपाईहरुलाई जहाँ पायक पर्छ, त्यहीको राम्रो ब्रोकर कम्पनीबाट सेयर खरिदबिक्री गर्न सक्नुहुन्छ। ब्रोकर कम्पनी छनौट गर्दा राम्रो, अहिलेसम्म कुनै कारबाहीमा नपरेको कम्पनी छान्नुहोला । हालै बजारमा संस्थागत लगानीकर्ताको रूपमा भित्रिएको नागरिक स्टक डिलरले ५०१ नम्बरबाट डिलरको रूपमा काम गर्दछ । यो डिलर कम्पनीले भने सिधै कारोबार गर्न पाउछ । यसलाइ ब्रोकर कम्पनीको आवश्यकता पर्दैन ।
ब्रोकर खाता कसरी खोल्ने ?
ब्रोकर कम्पनीमा गएर ग्राहक खाता खोल्ने । ग्राहक खाता खोल्न नागरिकताको प्रतिलिपी, फोटो, कारोबार गर्ने बैंक खाता नम्बर र डिम्याट खाता नम्बर चाहिन्छ। यो खाता खोलेपश्चात् तपाइँले Manually कारोबार गर्न सक्नुहुन्छ । ब्रोकर खाता भएपछि तपाइँले ब्रोकरसँगको सम्पर्कमा आफूसँग भएको सेयर बिक्री गर्न सक्नुहुन्छ ।
घरमै बसीबसी सेयर किन्ने वा बेच्न सबैको चाहानु हुन्छ तर यसबारे ज्ञान नहुँदा धेरैलाई समस्या पर्ने गरेको छ । घरमै बसीबसी अनलाइनमार्फत सेयर कारोबार गर्नका लागि टिएमएस सेवा लिनुपर्छ । Trade Management System नामक यो सेवा तपाइँले ब्रोकरकोबाट खोल्नुपर्छ । सर्वप्रथम ब्रोकरसँग एउटा सम्झौतापत्रमा हस्ताक्षर गर्नुपर्छ । सम्झौता भएपछि ब्रोकरले तपाइँलाई टिएमएसको एउटा URL उपलब्ध गराउँछ । त्यो URL थिचेर तपाइँले युजर नेम हालेपछि पासवर्ड परिवर्तन गर्नुपर्छ । त्यसपछी आफ्नो नयाँ पासवर्ड र ब्रोकरले दिएको युजर नेमबाट तपाइँले टिएमएस लगइन गर्न सक्नुहुन्छ ।
भिडियाे पनि :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।