लगानी खबर, काठमाडाैँ - मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे आईपीओमा अन्तिम दिनसम्म १ लाख भन्दा बढीले आवेदन दिएका छन् ।
निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार अन्तिम दिनसम्म १ लाख १ हजार २८ जना आवेदकबाट १ अर्ब ९३ करोड २५ लाख ७८ हजार रूपैयाँ बराबरकाे १ करोड ९३ लाख २५ हजार ७ सय ८० कित्ताको लागि आवेदन दिएका छन् ।
कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं। ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको थियाे । बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको थियो ।
केयर रेटिङ नेपालले कम्पनीको आईपिओलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गरेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।