Like us!
Follow us!

साताको सेयर बजार : २७.६२ अंकले बढ्यो नेप्से, हाइड्रोका लगानीकर्ता मालामाल

साताको सेयर बजार : २७.६२ अंकले बढ्यो नेप्से, हाइड्रोका लगानीकर्ता मालामाल

लगानी खबर, काठमाडौं - याे साता सेयर बजारले ऐतिहासिक रेकर्ड राखेको छ । यस साता सेयर बजारले ३१ सय बिन्दु पार गरेर अर्को नयाँ उचाई कायम गरेको हो । बुधबार नेप्से परिसूचक ३१२३.२४ विन्दुमा  पुगी बन्द भयाे । याे विन्दु बन्द हुँदाकाे हालसम्मकै उच्च विन्दु हाे । 

सेयर बजारले फेरि नयाँ रेकर्ड बनाउन थालेपछि लगानीकर्ताहरू उत्साहित छन् । लगानीकर्ताहरूकाे उत्साहका कारण काराेबार रकममा पनि राम्रै देखिन थालेको छ । 

यस साता नेप्से परिसूचक २७ दशमलव ६२ अंकले बढेर ३१०७ दशमलव ४५ विन्दुमा रोकिएको छ । गत साता नेप्से परिसूचक ३०७९ दशमलव ८३ विन्दुमा रोकिएको थियो । 

यस साता सेन्सेटिभ परिसूचक पनि ८.१५ अंकले बढेर ५७९ विन्दुमा रोकिएको छ । गत साता सेन्सेटिभ परिसूचक ५७० दशमलव ८५ विन्दुमा रोकिएको थियो । 

यस साता औसतमा दैनिक १२ अर्ब ९० कराेड भन्दा माथीको कारोबार भएको छ । याे साता धेरैमा १५ अर्ब ५९ कराेड र थाेरैमा १० अर्ब ९८ कराेडकाे काराेबार भयाे ।

बजार पुँजीकरणको कुरा गर्नुपर्दा नेप्से परिसूचकले नयाँ रेकर्ड बनाउँदा बजार पुँजीकरण पनि हालसम्मकै उच्च भएकाे छ । याे साता बजार पुँजीकरण  ४३ खर्ब ३७ अर्ब १७ करोड ३० लाख पुगेको छ । गत साताको तुलनामा यस साता बजार पूँजीकरण ५३ अर्ब ८० करोड रुपैयाँले बढेको छ । 

गत साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण ४२ खर्ब ८४ अर्ब १६ करोड ४० लाख रुपैयाँ थियो । साताको चौथो कारोबार दिन बुधवार कुल बजारपूँजीकरण हालसम्मकै सर्वाधिक ४३ खर्ब ५९ अर्ब ४७ करोड ७० लाख रुपैयाँसम्म पुगेको छ । 

यस साता सेयर कारोबार भने अघिल्लो साताको तुलनामा घटेको छ । यस साता १३ करोड १० लाख २४ हजार कित्ता सेयर कारोबार भएको छ । जबकी अघिल्लो साता १६ करोड ७५ लाख ६६ हजार कित्ता सेयर कारोबार भएको थियो ।

यस साता सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा जीवन विकास लघुवित्त वित्ती संस्था लिमिटेडका लगानीकर्ता रहेका छन् । त्यस पश्चात् धेरै कमाउने दोश्रो र तेश्रोमा क्रमश युनियन लाइफ इन्स्योरेन्स  लिमिटेड र घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ता रहेका छन् ।

यस साता सबैभन्दा धेरै गुमाउनेमा लक्ष्मी इक्वीटी फण्डका लगानीकर्ता रहेका छन् । त्यस पश्चात् धेरै गुमाउने दोश्रो र तेश्रोमा क्रमश चन्द्रागिरी हिल्स लिमिटेड र लक्ष्मी उन्नति कोषका लगानीकर्ता रहेका छन् ।

यस साता अपि पावर कम्पनीले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले २ अर्ब २७ करोड ११ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । यस साता हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । सर्वाधिक कमाउनेमा यस साता हाइड्रोपावर समूहका लगानीकर्ताहरु रहेका छन् । कारोबारमा आएका १३ समूहगत परिसूचकहरुमध्ये यो साता यो समूहको सेयरमूल्य सर्वाधिक ७.६५ प्रतिशतले बढेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।