Like us!
Follow us!

२० कम्पनीको ७ अर्ब ४१ करोड बराबरको आईपीओ आउँदै, कुनको कति कित्ता ? हेर्नुहोस्

२० कम्पनीको ७ अर्ब ४१ करोड बराबरको आईपीओ आउँदै, कुनको कति कित्ता ? हेर्नुहोस्

लगानी खबर, काठमाडौं - पछिल्लो समय नेपाली सेयर बजारमा छुट्टै राैनकता देखिन थालेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पनि नयाँ-नयाँ रेकर्ड बनाउँदै गइरहेकाे छ अनि सेयर बजारमा नयाँ लगानीकर्ताहरू थपिने क्रम दिनानुदिन गर्दै बढिरहेकाे छ ।

सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुवैले दिनहुँजसो ऐतिहासिक रेकर्ड राख्दै आइरहेका छन् । नेप्से परिसूचकले तीन हजारको बिन्दु पार गरिसकेको छ भने कारोबार रकम पनि २० अर्ब नजिक पुगीसको छ । सेयर बजारले यहि आइतबार मात्र १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६ सय ३६ रूपैयाँ बराबरको कारोबार भएर काराेबार रकमले नयाँ रेकर्ड बनाएकाे थियाे भने सोमबार सेयर बजार ३०२५.८२ विन्दुमा पुगी नेप्से परिसूचकले नयाँ रेकर्ड बनायो ।

पछिल्लो समय निषेधाज्ञा कारण लगानीका अन्यन्त्र क्षेत्र ठप्प हुँदा पनि सेयर बजारमा लगानीकर्ताको क्रेज देखिएको छ । जुन पछिल्लो समयको कारोबार रकमले पुष्टि गर्छ । एक वर्ष अघिसम्म ३-४ अर्बमा सीमित कारोबार रकम अहिले २० अर्बको हाराहारीमा पुगेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टको जोखिम तथा यसको नियन्त्रणको लागि भन्दै गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा निषेध आदेश जारी गरिएको छ । जसका कारण अन्य व्यापार व्यवसाय ठप्प छन् । तर यता सेयर बजार भने दिनहुँ कीर्तिमानीतर्फ लम्किरहेको छ । 

धेरै जसाे लगानीकर्ताहरू आईपीओकाे माध्यमबाट बजारमा भित्रिने गरेका छन् । आजकाल आईपीओप्रति लगानीकर्ताकाे क्रेज बढ्दाे छ । हरेक कम्पनीकाे आईपीओ निष्काशन हुँदा लगानीकर्ताहरू झुम्मिने गरेका छन् । जुन कुरा हरेकपल्ट पर्ने मागभन्दा धेरै आवेदनकाे संख्याले पनि पुष्टि गर्दछ । जसका कारण धेरैजसो लगानीकर्ताको हात खाली हुने गर्छ ।

यदि यसअघि आईपीओ नपरेर तपाई निराश हुनुहुन्छ ? त्यसो हो भने बरु पैसा जम्मा पार्दै गर्नुहोला । हाल विभिन्न १८ वटा कम्पनी नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा आईपीओ निष्काशन गर्न बाेर्डकाे स्वीकृतीका लागि पर्खेर पाइपलाइनमा बसेका छन् । जुन तपाईलाई पर्न पनि सक्छ । 

त्यस्तै, एउटा कम्पनीकाे आईपीओ काेराेनाका कारण बीचमै स्थगित भएकाे छ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ बीचमै स्थगित भएको हो । 

कम्पनीले वैशाख २१ गते, मंगलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई साधारण सेयर (आईपीओ) निष्कासन गरिरहेकाे थियाे । तर हाल देशभर कोरोना भाइरसकाे संक्रमणका कारण निषेधाज्ञा जारी गरिएकाे हुनाले हाललाई आईपीओ स्थगित गरिएकाे हाे । कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियाे । जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको थियाे । कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्काशन गर्नेछ।


एउटा कम्पनीले हालै मात्र सेबाेनबाट आईपीओ निष्काशन गर्ने स्वीकृती प्राप्त गरेकाे छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन अनुमति पाइसकेको छ । कम्पनीले निष्काशन मिति समेत तोकिसकेको छ । संस्थाले असार ११ गतेबाट साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीको १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ असार ११ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।  आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले उक्त आईपीओमा छिटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ भने अनलाईन मार्फत मेरो सेयर एप र मेरो सेयर सफ्वेयर मार्फत पनि आवेदन दिन सकिनेछ । 

संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

संस्थालाई नेपाल धितोपत्र बोर्डले जेठ ३० गते आईपिओ निष्काशनको अनुमति प्रदान गरेको थियो । संस्थाले गत बर्ष फागुन १७ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै सेबोनमा निवेदन पेश गरेको थियो ।   
संस्थाको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले जम्मा पुँजीको ३२.५० प्रतिशत आईपिओ निष्काशन गर्न लागेको हो । 

माथि उल्लेखित यी २ कम्पनी र सेबोनको पाइपलाइनमा रहेका कम्पनीलाई हेर्ने हो भने नेपाली सेयर बजारमा २० वटा कम्पनीकाे ७ अर्ब ४१ करोड २७ लाख ६३ हजार ४०० रुपैयाँ बराबरको ७ करोड ४१ लाख २७ हजार ६ सय ३४ कित्ता आईपीओ निष्काशन हुँदैछ । 

सेबोनको अनुमतिको पर्खाइमा रहेका १८ कम्पनीहरु यसप्रकार छन् :

१.साहस उर्जा कम्पनी लिमिटेड

साहस उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर २४ गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

२.सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेड 

सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सय कित्ता कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ  । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

३.अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले १०० रुपैयाँ अंकित दरका ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको कुल ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासनको माग गर्दै कम्पनीले गत चैत १६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले सर्वसाधारण र स्थानीयका लागि आईपीओ निष्कासन गर्नेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। 

४. मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि वैशाख १३ गते साेमबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

५. दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेड

दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले २९ करोड ५१ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि वैशाख २१ गते मंगलबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

६. अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेड

अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० कराेड रूपैयाँ बराबरकाे २० लाख कित्ता आईपीओ निष्कासन गर्न जेठ २ गते, सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीको प्रदेश नं. १ अन्तर्गत संखुवासभा जिल्लाको पाँचखपन र चैनपुर नगरपालिका भएर बहने हेवाखोलामा ८.५ मेगावाट क्षमताको जलविद्युत आयोजना अहिले निर्माणको चरणमा रहेको छ ।

७.युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड 

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार साधारण सेयर (आईपीओ) निष्कासन गर्न जेठ ९ गते आइतबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीकाे समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको संकेत गर्दछ । याे रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रूपैयाँ रहेको छ ।  साधारण सेयर (आईपीओ) निष्कासन गरे पश्चात कम्पनीकाे चुक्ता पूँजी २ अर्ब नाघ्नेछ ।

८. सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँदरमा ६० लाख कित्ता आईपीओ निष्कासन गर्न जेठ ९ गते आइतबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीकाे जेठ २३ गते, आइतबार सम्पन्न भएकाे तेस्रो वार्षिक साधारण सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिएकाे थियाे । कम्पनीकाे आईपीओ केयर रेटिङले“केयर एनपी बीबीबी” रेटिङ प्रदान गरेकाे छ । यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । 

९. डिस मिडिया नेटवर्क लिमिटेड

डिसहोमले २३ करोड ८५ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार २९ गते साेमबार सेबोनमा निवेदन पेश गरेकाे हाे । उक्त साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई  क्यापिटल  लिमिटेडले गर्नेछ ।

१०. ग्रीन भेन्चर लिमिटेड 

ग्रीन भेन्चर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरमा ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन २८ गते  नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ  । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ ।

११. मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर  (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ असोज २० गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

१२. न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड ५० लाख रूपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर १० गते, बुधबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण सेयर (आईपीओ) सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

१३. विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल माघ १ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

१४. सामलिङ्ग पावर कम्पनी लिमिटेड 

सामलिङ्ग पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड ३०  रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि माघ ५ गते  नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैकिंङ लिमिटेडले गर्नेछ ।

१५. हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड

हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल कार्तिक २७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम जनता क्यापिटल लिमिटेडले गर्नेछ ।

१६. मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ८९ लाख रूपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता साधारण सेयर (आईपीओ)  निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १४ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । संस्थाकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

१७.  बलेफी हाइड्रोपावर लिमिटेड 

बलेफी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन २५ गते  नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ  । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

१८. बुद्ध भूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड 

बुद्ध भूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि माघ ८ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ । कम्पनीकाे उक्त साधारण सेयर (आईपीओ) सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम  सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।