Like us!
Follow us!

मेलम्ची बाढी: मृतकको संख्या तीन पुग्यो, १७ अझै बेपत्ता

मेलम्ची बाढी: मृतकको संख्या तीन पुग्यो, १७ अझै बेपत्ता

लगानी खबर, काठमाडौं - मेलम्ची बाढीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ। बिहीबार दुईको शब फेला परेपछि मृतक बढेका हुन्। बाढीमा अझै १७ बेपत्ता रहेको स्थानीय प्रशासनले जनाएको छ। बाढीमा बेपत्ता एक/एक चिनियाँ र भारतीय नागरिकको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए। उनीहरुको शव सिन्धुली जिल्लामा फेला परेको उनले बताए। 

उनका अनुसार सिन्धुलीको सुनकोसी गाउँपालिकाका फरक–फरक स्थानमा चिनियाँ नागरिक यु ची झु र भारतीय कमललोचन महतोको शव फेला परेको हो। यसअघि बुधबार जिल्लाकै इन्द्रावती नदी बगरमा चिनियाँ गोङ टियान छियोको शब फेला परेको थियो। 

उनको सनाखत भने बुधबार मात्रै भएको हो। मृतक तीनै जना मेलम्ची खानेपानी आयोजनाको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोका कामदार हुन्। आयोजनाको मुहान अम्बाथानमा हेडवक्र्स बनाउने काममा उनीहरु संलग्न थिए। आयोजनाको अम्बाथानस्थित क्याम्पमा ७० कामदार रहेकोमा ४७ को उद्दार गरिएको थियो । आठ कामदार बेपत्ता रहेकोमा तीनको शब फेला फरेको हो। 

अझै पाँच कामदार बेपत्ता छन्। कामदारसहित बेपत्ता १७ को खोजी कार्य भइरहेको सहायक प्रजिअ खनालले बताए। ‘नदी सतह पर्याप्त नघटेको र वर्खे झरीले समस्या दिँदा खोजीमा कठिनाइ भइरहेको छ,’ उनले भने। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली, बेपत्ताको खोजी, उद्दार, राहत वितरण, क्षति संकलन कार्यमा परिचालन भइरहेको छ। तीन सय ४५ जनाको संयूक्त सुरक्षा टोली बाढी प्रभावित क्षेत्र मेलम्ची नदी करिडोरमा परिचालित रहेको खनालले जनाए। 

स्थानीय प्रशासनका अनुसार दुई भारती, एक चिनियाँ नागरिक र स्थानीयसहित १४ अझै बेपत्ता छन्। बाढीमा हेलम्बु गाउँपालिकाका मात्र ११ बेपत्ता छन्। बाढीमा फसेका थप ६ को उद्धार गरिएको छ। विभिन्न स्थानबाट उनीहरुको सकुशल उद्धार गरिएको हो। मंगलबार ७४ को उद्दार गरिएको थियो। हराएका भनिएकाहरु सम्पर्कमा आउने र आफन्त बेपत्ता भएको भन्दै परिवारजन स्थानीय प्रशासनको सम्पर्कमा आउने क्रम जारी रहेका छ।

नदी सतह घटबढ हुने क्रम जारी छ । नदी घट्दा केही राहत महसुस गर्ने बाढी बढ्दा पीडित भने त्रसित बन्ने गरेका छन्। मेलम्चीको आधा बजार बगरमा परिणत भएको छ। यहाँका झण्डै पाँच सय स्थानीय बिस्थापित छन्। उनीहरु टारस्थित स्थानीय, सेनाको व्यारेक र इन्द्रेश्वरी माविमा आश्रित छन्। स्थानीय तहले खाने व्यवस्था मिलाएको छ।  नागरिक दैनिकमा खबर छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।