लगानी खबर, काठमाडौं – ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुन सुरू भएको छ । कम्पनीले JLI सिम्बाेल पाएकाे छ ।
हाल कम्पनीकाे उक्त आइपिओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । नेप्सेमा सूचिकृत भएपछि लगानीकर्ताले उक्त सेयर कारोबार गर्न सक्नेछन् ।
नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३२ रूपैयाँ ९४ पैसादेखि अधिकतम ३९८ रुपैयाँ ८२ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।
सेबाेनमा प्रकाशन भएकाे विवरण पत्र अनुसार ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ १३२ रूपैयाँ ९४ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३९८ रुपैयाँ ८२ पैसा हुन्छ ।
कम्पनीले फागुन २१ गते, शुक्रबारदेखि फागुन २६ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेकाे ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएकाे थियाे ।
कम्पनीकाे आईपीओमा १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेको थियाे । जसमध्ये, ४४ हजार ६ सय ४५ जना आवेदकाे आवेदन रद्द भएकाे थियाे र बाँकी १७ लाख ९७ हजार ८ सय ३५ जना मात्र योग्य आवेदक रहेका थिए । गाेलाप्रथाद्वारा गरिएकाे बाँडफाँडमा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका थिए । यता बाँकी १२ लाख ४८ हजार ४ सय ९६ आवेदकहरू भने सेयर पाउनबाट वञ्चित भएका थिए ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।