Like us!
Follow us!

सेयर बजारमा ओझेलमा परेको रिडी, खर्च न्युन हुँदा आम्दानी आकर्षक

सेयर बजारमा ओझेलमा परेको रिडी, खर्च न्युन हुँदा आम्दानी आकर्षक

लगानी खबर, काठमाडौँ - सेयर बजारमा राम्रा कम्पनी ओझेलमा पर्छन्, नराम्रा कम्पनीको मूल्य हल्ला चलाएर उचालिन्छ । यस्तै ओझेलमा परेको कम्पनी हो रिडी हाइड्रोपावर कम्पनी ।

आधारभूत रुपमा निकै राम्रो रहेको रिडीले वर्षेनी मुनाफा गरेर लाभांश वितरण गरिरहेको छ । यसमा जोखिम न्युन छ । बजारमा मूल्य पनि आइपोकै हाराहारीमा छ ।

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको नेप्सेमा ५८ लाख ७३ हजार २० कित्ता सेयर सूचीकृत छ । रिडीको चुक्ता पूँजी ५८ करोड ७३ लाख २ हजार १६ रुपैयाँ छ । जलविद्युत कम्पनीमध्ये ऋण मुक्त भएको सम्भवतः एक मात्र कम्पनी हो रिडी । जलविद्युत कम्पनीहरुको अधिकांश आम्दानी ऋणको किस्ता र ब्याज तिर्न खर्च हुन्छ । त्यो अवस्था रिडीलाई छैन । उसले सबै बैंक तथा वित्तीय संस्थाको ऋण चुक्ता गरिसकेको छ । अब उसको आम्दानी संचालन खर्चबाहेक सबै मुनाफामा समावेश हुन्छ ।

रिडीको अर्को सकारात्मक पक्ष भनेको यस कम्पनीले भर्खरै रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ८.५ मेगावाट क्षमताको बुटवल सौर्य विद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ कात्तिक १५ गतेदेखि व्यवसायिक उत्पादन गरिरहेको छ । कम्पनीले यस आयोजनाबाट पनि राम्रो आम्दानी गर्ने छ । सोलार परियोजना संचालन गर्न कम्पनीलाई अतिरिक्त खर्च हुने छैन । सोलार आयोजनाबाट २०-२५ बर्षसम्म न्युन मर्मत संभार खर्चमा विद्युत उत्पादन भइरहनेछ । कम्पनीले सोलार जडान क्षेत्रमा नगदेबाली खेती गरेर अतिरिक्त आम्दानी गर्ने योजना बनाएको प्रबन्ध निर्देशक कुवेरमणि नेपाल बताउँछन् ।

रिडीको रैराङ हाइड्रोपावर डेभल्पमेण्ट कम्पनीको संस्थापक सेयरमा २५५ (१४ करोड) रुपैयाँ शेयर लगानी गरेको छ । रैरांङले इवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । रैरांङको संस्थापक सेयर विक्री गर्ने लकिंग पिरियड यही जेठमा सकिँदैछ । त्यसपछि कम्पनीले बजारमा उक्त सेयर बिक्री गर्ने योजना बनाएको छ । रैरांङको सेयर नेपाल स्टक एक्स्चेन्जमा बिहीबार २७३ रुपैयाँ प्रतिकित्तामा कारोबार भइरहेको छ । रिडी हाइड्रोपावर जलविद्युत तथा ऊर्जाका अन्य आयोजनाहरु विकास, निर्माण र संचालन गर्न उद्देश्यले स्थापना भएको कम्पनी हो । यस कम्पनीले गुल्मी तथा पाल्पा जिल्लाको सीमाना भई बहने रिडी खोलाको पानी उपयोग गरी २.४ मेगावाट क्षमताको रिडीखोला जलविद्युत आयोजना निर्माण गरि संचालन गरिरहेको छ । आगामी वर्षहरुमा कम्पनीको बुटवल सोलार आयोजनाको विद्युत बिक्री आम्दानी, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्रदान गर्ने लाभांश वा उसले सेयर बिक्री गरेर ठूलै रकम हात पार्ने हुँदा कम्पनीको आयमा वृद्धि भई आफना शेयरधनीहरुलाई दिने लाभांशमा निकै वृद्धि हुने देखिन्छ ।

कम्पनीले रिडीखोलाको व्यावासायीक उत्पादन पश्चात् हरेक वर्ष शेयरधनीहरुलाई लाभांश प्रदान गर्दै आएको छ । कम्पनीले २०७०/२०७१ मा पहिलो पटक १०.५३ प्रतिशत बोनस सेयर दिएको थियो । त्यसपछि हरेक वर्ष क्रमशः १०.५३, ६.३२, ६.३२, ६.३१, ५.२६ र ५.२६ प्रतिशत लाभांश वितरण गरेको छ । विगत ६ वर्षदेखि हरेक वर्ष लाभांश वितरण गर्ने थोरै जलविद्युत कम्पनी मात्रै छन् । कम्पनी ऋणमुक्त भएकाले अब यसको लाभांश आकर्षक हुने देखिन्छ ।

रिडीको बजार बुक भ्यालु १०३.४९, प्रति सेयर आम्दादी ६.६२ र मूल्य कितावी मूल्य (पिबी) रेसियो १.७८ छ । रिडीमा लगानी गर्नेहरुले सेयर मूल्य नबढे पनि लाभांश आकर्षक पाउने देखिन्छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।