लगानी खबर, काठमाडौँ - रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे १९औं वार्षिक साधारण सभा आज (मंसिर २६ गते, शुक्रबार) कम्पनीको कर्पोरेट कार्यालय थापाथली, काठमाडौंमा भर्चुअल माध्यम मार्फत सम्पन्न भएकाे छ ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था गरिएको थियो ।
सभाले सञ्चालक समितिकाे बैठकले निर्णय गरे बमाेजिम शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयाेजनका लागि ०.२६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेकाे छ । कम्पनीले पारित गरेकाे लाभांश मंसिर १५ गतेसम्म कायम शेयरधनीले पाउने छन् ।
यसका साथै, सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गरिएकाे छ । त्यस्तै, सभामा कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरीएकाे छ ।
रिडी हाइड्रोपावर जलविद्युत तथा ऊर्जाका अन्य आयोजनाहरु विकास, निर्माण र संचालन गर्न उद्देश्यले नेपालीहरुको लगानी भएको कम्पनी हो । यस कम्पनीले गुल्मी तथा पाल्पा जिल्लाको सीमाना भई बहने रिडी खोलाको पानी उपयोग गरी २.४ मेगावाट क्षमताको रिडीखोला जलविद्युत आयोजना निर्माण गरि संचालन गरिरहेको छ । कम्पनीले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ८.५ मेगावाट क्षमताको बुटवल सौर्य विद्युत आयोजना निर्माण सम्पन्न गरि २०७७ कात्तिक १५ गतेदेखि व्यवसायित उत्पादन गरिरहेको छ ।
कम्पनीले रिडीखोलाको व्यावासायीक उत्पादन पश्चात् हरेक वर्ष शेयरधनीहरुलाई लाभांश प्रदान गर्दै आएको छ । रैराङ हाइड्रोपावर डेभल्पमेण्ट कम्पनीले निर्माण गरेको इवाखोला जलविद्युत आयोजनामा समेत यस कम्पनीको २५% (१४ करोड) शेयर लगानी रहेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
news.laganikhabar@gmail.com मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।