Like us!
Follow us!

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : वित्तीय संस्थाको निक्षेप परिचालन ४.९ प्रतिशतले वृद्धि

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : वित्तीय संस्थाको निक्षेप परिचालन ४.९ प्रतिशतले वृद्धि

लगानी खबर, काठमाडौँ - नेपाल राष्ट्र बैंकले हिजाे (मंसिर १८ गते, बिहीबार) मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ । 

समीक्षा अवधिमा बैक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ४.९ प्रतिशतले वृद्धि भई रु. ४०२७ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप परिचालन ३.० प्रतिशतले मात्रै वृद्धि भएको थियो । त्यस अवधिमा रु. ३३३१ अर्ब ५७ करोड निक्षेप पुगेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिनामा बैक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जा ४.० प्रतिशतले वृद्धि भई रु. ३३३९ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.३ प्रतिशतले बढेर रु. २९८८ अर्ब ७६ करोड पुगेको थियो । बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीे २०७७ असार मसान्तमा रु. ३५२ अर्ब ३७ करोड रहेकोमा २०७७ असोजमा रु. ३५२ अर्ब ७० करोड पुगेको छ ।

त्यसैगरी, यस अवधिमा पुँजीकोष रु. ५२१ अर्ब ७० करोडबाट वृद्धि भई रु. ५८४ अर्ब ८१ करोड पुगेको छ । २०७७ असोज मसान्तमा वाणिज्य बैंकहरुको पुँजी कोष पर्याप्तता अनुपात १४ प्रतिशत, विकास बैंकहरुको १३.५ प्रतिशत र वित्त कम्पनीहरुको १९.४ प्रतिशत रहेको छ । २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः १४ प्रतिशत, १४.४ प्रतिशत र १९.६ प्रतिशत रहेका थिए ।

बैंक तथा वित्तीय संस्थाको शाखा विस्तारसँगै वित्तीय पहुँच बढेको छ । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७७ असोज मसान्तमा ९९०३ पुगेको छ । उक्त अवधिमा प्रति बैंक शाखा जनसंख्या ३०७२ बाट घटेर ३०२९ कायम भएको छ । २०७७ असार मसान्तमा १३६२.४ रहेको नेप्से सूचकाङ्क २०७७ मंसिर १८ मा २०५५.४६ पुगेको छ । त्यसैगरी, २०७७ असार मसान्तमा रु. १७९२ अर्ब ७६ करोड रहेको बजार पुँजीकरण २०७७ मंसिर १८ मा २७५५ अर्ब ०६ करोड पुगेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।