लगानी खबर, काठमाडौं - करीब ४ महिना नेतृत्व विहिन रहेको नेपाल धितोपत्र बोर्डको नेतृत्वमा रमेश कुमार हमाल नियुक्त भएपछि लगानीकर्ताहरु यो नेतृत्वले नेपालको धितो पत्र बजारलाई सुधार गर्ने अपेक्षा राखेका थिए, तर अहिले भने लगानीकर्ताहरु अध्यक्ष हमालका भनाइलाई वास्ता गर्न छाडेका छन् ।
सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा मुछिएपछि तत्कालीन सेबोन अध्यक्ष भिष्मराज ढुंगानालाई छानबिन समितिको सुझावमा सरकारले बर्खास्त गरेपश्चात धितोपत्र वोर्ड ४ महिना नेतृत्व विहिन रहेको थियो । अध्यक्ष छनोटका लागि गठित समितिले अन्तिम चरणका लागि ३ जनाको नाम सिफारिस गरेको थियो । वि.सं. २०७८ फाल्गुण ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले बाँकी कार्यकालको लागि अध्यक्षमा रमेश कुमार हमाललाई नियुक्त गरेको थियो ।
इन्जिनियरिङको अध्ययन गरेको भएतापनि कमर्सियल क्षेत्र आफ्नो चासोको विषय रहेको बताएका अध्यक्ष हमाल, रूचिकै कारण करिब ७ वर्ष इन्जिनियरिङमा कमर्सियल क्षेत्रमै बजेटिङ साइडमा काम गरे । उनले एम.वि.ए फाइनान्स सम्मकोको अध्यन गरे । लगानी व्यवस्थापन, अर्थशास्त्र र व्यवस्थापन क्षेत्रमा राम्रो अनुभव बटुलेका उनीप्रति लगानीकर्ताहरुले समग्र धितोपत्र बजारको विकासको अपेक्षा गरेका थिए ।
नियुक्ति तथा पत्रकार सँगको अन्तर्क्रियामा उनले व्यक्त गरेका विचार र उनको प्रस्तुत हुने शैलीका कारण लगानीकर्ताहरु उनको नेतृत्वमा धितोपत्र बजारमा कमीकमजोरी अन्त्य हुने र उनी त्यही समस्या समाधानका लागि नियुक्त भएको विश्वास राखेका थिए । धितोपत्र बोर्डले पत्रकार अन्तर्क्रियामा कार्यक्रमममा बजारको विकासका लागि उनले प्रस्तुत गरेका कार्ययोजना प्रति लगानीकर्ताहरु उत्साहित थिए ।
पूँजीबजार सुधारका लागि तयार पारेका उनका छ बुँदे कार्ययोजनामा सेयर खरिद बिक्री गर्दा लाग्ने शुल्क घटाउने, सेयरबजारमा हुने गतिविधिलाई निगरानीलाई थप प्रभावकारी बनाउन अटोमेटिक सर्भिलेन्स जडित सफ्टवेयरको विकास गर्ने, सेयरबजारमा रियल सेक्टर भित्र्याउने, बोन्ड मार्केट र इन्फ्रास्टक्चर मार्केट विकास गर्ने, कर्मचारीको क्षमता अभिवृद्धि र विस्तार, अन्य वित्तीय निकाय सँग समन्वय गरी वित्तीय साक्षरता विकासमा कार्यक्रम सञ्चालन गर्ने एवम् ठूला ठूला कम्पनीहरुलाई बुक बिल्डिंग विधिबाट धितोपत्र बजारमा भित्र्याउने लगायतका उनका योजनाहरु बाट लगानीकर्ताहरुले हितमा काम गर्नेमा विश्वस्त थिए । साथै सार्वजनिक कार्यक्रममा उनको प्रस्तुत हुने शैली तथा विचार राख्ने शैली बाट पनि लगानीकर्ताहरू प्रभावित भएका थिए ।
नेतृत्वको भुमिका विहिन धितोपत्र वोर्डमा योजना सहितको नेतृत्व बहन गरेका व्यक्ति आउँदा लगानीकर्ताहरूलाई छुट्टै विश्वास देखिएको थियो र उनका हरेक क्रियाकलापमा लगानीकर्ताहरुले निगरानी गरेका थिए तर अहिले सेयरबजारमा निरन्तर गिरावट आई रहेको बेला सकारात्मक समाचारको अपेक्षा गरेका लगानीकर्ता अहिले धितोपत्र वोर्ड अध्यक्षको योजनाहरु कता हराए भन्दै सेयरबजार सम्बन्धी ग्रुपमा विचार व्यक्त गरिरहेका छन् ।
पहिला अध्यक्ष हमालका हरेक कुराहरूलाई सकारात्मक रूपमा लिएका लगानीकर्ताहरु अहिले भने उनको प्रकाशित अन्तर्वार्तामा नकारात्मक प्रतिक्रिया जनाई रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।