Like us!
Follow us!

म्याग्देवासीले अब घरमै बसेर तिर्न सक्छन् कर

म्याग्देवासीले अब घरमै बसेर तिर्न सक्छन् कर

लगानी खबर, काठमाडौं - म्याग्दे गाउँपालिकाले सूचना र प्रविधिको उच्चतम प्रयोग गर्दै घरबाटै कर तिर्न मिल्ने व्यवस्था मिलाएको छ । गाउँपालिकाले सोमबारदेखि विद्युतीय कर भुक्तानी सेवा सञ्चालन गरेर घरबाटै कर तिर्न सकिने व्यवस्था गरेको हो । यो व्यवस्थासँगै अब सर्वसाधारणले कर तिर्न गाउँपालिका केन्द्र छाङ्ग धाउनु नपर्ने भएको छ ।

इन्टरनेटको पहुँच भएका नागरिकले घरबाटै कर तिर्न सक्ने गाउँपालिकाका सूचना प्रविधि शाखा प्रमुख जीवन थापाले बताए । उनका अनुसार कर तिर्न मिल्ने गरी गाउँपालिकाको वेभसाइटमा उल्लेख गरेको छ । गाउँपालिकाको करदातामा दर्ता भएका सेवाग्राहीले नाम र पासवर्ड प्रयोग गरी जुनसुकै ठाउँबाट कर तिर्न सक्ने उनले जनाए । ‘वेभसाइटबाट भूमि कर र सम्पति कर घरमै बसेर तिर्न सकिन्छ,’ थापा भने ।  सेवाग्राहीले खल्ती, आइएमइ पे, प्रभु पे, कनेक्ट आइपीएसमार्फत कर रकम तिर्नुपर्ने थापाले जानकारी दिए । ‘कर तिरेपछि सेवाग्राहीको मोबाइलमा म्यासेज आउँछ । सेवाग्राहीलाई ईमेलमा कर तिरेको प्रमाण स्वरुप रसिद जाने सिस्टम बनाएका छौँ’, उनले भने । 

करको दर समेत वेभसाइटमै राखिएको उनले जनाए । २०७४ सालपछि गाउँपालिकामा कर बुझाएका सेवाग्राहीको विवरण भर्नुपर्ने छैन ।  २०७४ सालभन्दा अगाडि कर बुझाएका सेवाग्राहीको विवरण सिस्टममा अध्यावधिक गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकावासीको सहजताका लागि अनलाइनबाट कर तिर्ने व्यवस्था मिलाएको गाउँपालिका अध्यक्ष मायादेवी रानाले बताइन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।