Like us!
Follow us!

व्यापारीसँग फोहोर शुल्क उठाउँदै उपमहानगर

व्यापारीसँग फोहोर शुल्क उठाउँदै उपमहानगर

लगानी खबर,  काठमाडौं - दाङको तुलसीपुर उपमहानगरपालिकाले फोहोरो व्यवस्थापनका लागि भन्दै व्यापारीहरूबाट मासिक शुल्क उठाउन सुरु गरेको छ । चालू आर्थिक वर्षदेखि फोहोर व्यवस्थापनको नाममा स्थानीय व्यवसायीहरूबाट फोहोर शुल्क उठाउन उपमहानगरले सुरु गरेको हो ।

मासिक एक हजार रुपैयाँसम्म फोहोर शुल्क उठाउन थालिएको हो । व्यवसायी र नगरबीच भएको छलफल र सम्झौताअनुसार उपमहानगरले फोहोर शुल्क उठाउन सुरु गरेको उपमहानगरको वातावरण शाखाले बताएको छ । उपमहानगरले साउन महिनादेखिको फोहोर शुल्क बुझाउन व्यवसायीलाई सार्वजनिक रूपमा आह्वान गरेको छ । बजारमा रकमसमेत उठाउन सुरु भइसकेको छ । 

दैनिश १४ टन फोहोर संकलन हुने तुलसीपुरमा बढी फोहोर व्यवसायीबाटै संकलन हुने भएको हुँदा शुल्क तय गरेर रकम उठाउन लागिएको नगरपालिकाले जनाएकाे छ । फोहोर संकलनका लागि गाडी पठाउने रुटहरूमा उद्योग तथा व्यवसाय सञ्चालन गर्दै व्यवसायीबाट व्यवसाय वर्गीकरण गरी शुल्क उठाउन थालिएको हो । फोहोरसंकलन वापतको शुल्क उठाउनका लागि उमहानगरले कमर्चारीसमेत खटाइसकेको छ । उपमहानगरले व्यवसायको प्रकृतिका आधारमा फोहोर शुल्क तोकेको छ । 

फोहोर व्यवस्थापनलाई सहज बनाउन व्यवसायीबाट फोहोर शुल्क उठाइने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले जानकारी दिए । नगर परिषद्को निर्णयका आधारमा व्यवसायीबाट फोहोर शुल्क उठाउन सुरु गरिएको सरसफाइ शाखाका नासु खेमकान्त पाण्डेले बताए । उनका अनुसार फेन्सी तथा होलसेल कपडा पसल, किराना पसल, ईलेक्ट्रोनिक पसललगायतका सटरसहितका प्रत्येक पसलबाट मासिक पाँच सयका दरले वर्षको ६ हजार रुपैयाँ फोहोर शुल्क लिइने छ । 

होलसेल फलफूल तथा तरकारी पसलबाट मासिक एक हजारको दरले वर्षको १२ हजार, व्युटीपार्लर तथा कस्मेटिक पसलबाट मासिक तीन सयका दरले एक वर्षको तीन हजार ६ सय रुपैयाँ फोहोर शुल्क संकलन गरिने उनले जानकारी दिए । ठूला होटल, कलकारखानाबाट मासिक एक हजार र साना होटेलबाट पाँच सय रुपैयाँ फोहोर शुल्क लिने नगर परिषद्ले निर्णय गरेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।