Like us!
Follow us!

लकडाउनमा व्यावसायिक खेतीबाट राम्रो आम्दानी लिँदै

लकडाउनमा  व्यावसायिक खेतीबाट राम्रो आम्दानी लिँदै

लगानीखबर,खाँदबारी - लकडाउनको अवधि बढेसँगै सङ्खुवासभामा कृषकले आफ्नो आम्दानी बढाउन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमणले बजार क्षेत्र सुनसान र हिँडडुलमा समस्या भए पनि गाउँमा भने कोरोना सङ्क्रमणले कृषकलाई आफ्नो पेशामा समय दिन साथ दिएको सभापोखरी गाउँपालिका–२ का कृषक मानध्वज राईले बताए ।

स्कूल क्याम्पस सबै बिदा छ । छोराछोरी सबै गाउँमै हुँदा खेतीपातीमा धेरै सहजता आएको भन्दै अहिले आफूसहित सपरिवार खेतबारीमै व्यस्त हुने गरेको जानकारी राईले दिए । आँप, लिची, केरा, कागती, सुन्तला, मेवा, भुइँकटहरलगायतका १०० भन्दा बढी फलफूलको बिरुवा लगाएको राईले बताए। बेसार, अदुवा, सिमीलगायतका सागसब्जी रोपेर आम्दानीको स्रोत बढेको भन्दै कोरोना सङ्क्रमणले लामो समयदेखि आम्दानी नै लिन नसकिएको खेतबारीबाट समेत केही वर्षपछि राम्रो आम्दानी जुटाउन सकिने वातावरण तयार भएको राईको भनाइ छ । राईले परिश्रम, जैविक खानपिन र सरसफाइबाटै कोरोनालाई परास्त गर्न सकिने भन्दै कोरोनासँग डराएरभन्दा श्रम र पसिना बगाउन सके आर्थिक प्रगति हुनुका साथै रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाएर रोगलाई भगाउन सकिने धारणा राखे ।
 
सभापोखरीका मानध्वज मात्रै होइन, सङ्खुवासभाका धेरै कृषकले लकडाउनको समयमा खेतीपातीबाट राम्रो आम्दानी बढाएका छन् । खाँदबारी–४ पाङ्माका दाजुभाइ गङ्गाराज र बलबहादुर कुलुङ राईले समेत लकडाउनले कृषकलाई राम्रो अवसर दिएको बताए । उनीहरुले आफ्नो सात रोपनी र छिमेकीसँग भाडामा लिएको दुई रोपनी गरी नौ रोपनी जग्गामा टमाटर, प्याज, काउली, सागलगायतका तरकारी बाली लगाएका छन्। बाह्र वटा टनेलमा दाजुभाइले मिलेर लगाएको टमाटर, सागसब्जीलगायतका फलफूल किन्न उपभोक्ताहरु करेसाबारीमै पुग्ने गरेका गङ्गाराजले बताए । रु पाँच लाखको लगानीमा शुरु गरेको तरकारी बाली खरिद गर्न र हेर्नका लागि स्थानीय उपभोक्ता, जनप्रतिनिधिसमेत पुग्ने गरेको र सहयोग गर्ने आश्वासनसमेत दिएकाले व्यावसायिकरूपमा कृषि पेशामा लाग्न थप हौसला जुटेको उहाँको भनाइ छ । लकडाउनका कारण अन्य जिल्लाबाट तरकारी फलफूल नआउँदा आफ्नो उत्पादनले राम्रो मूल्य र बजारसमेत पाएको भन्दै आफूले वर्षैपिच्छे धान खेती घटाउँदै व्यावसायिक फलफूल र सागसब्जी खेती बढाउँदै लैजाने योजना राखेको उनले बताए ।
 
बजारतिर जताततै कोरोना भाइरसको आतङ्क बढेको छ । बाहिर बिनाकाम भौँतारिनुभन्दा कृषिमै समय दिन सकियो भने जीविकोपार्जन र आर्थिक अवस्थामा समेत सुधार ल्याउन सकिन्छ भन्ने कुरामा आफूहरुको विश्वास बढेको कृषक राईले बताए । व्यावसायिक कृषिका लागि केही तालिम र सहुलियत ऋणको व्यवस्था हुने हो भने ठूलो सङ्ख्यामा विदेशिएका युवालाई आफ्नै गाउँमा रोजगारी दिलाएर उनीहरुको आयस्तर उकास्न सकिने राईको भनाइ छ ।
 
लकडाउनका कारण गाउँ फर्किएका जनशक्ति कृषि पेशामा संलग्न हुँदा यस वर्ष सङ्खुवासभाको कृषि उत्पादनमा वृद्धि हुने कृषि ज्ञान केन्द्र सङ्खुवासभाले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख गोविन्दप्रसाद आचार्यले सङ्खुवासभामा कूल खेतीयोग्य जमिन ३१ हजार ५८६ हेक्टरमध्ये १३ हजार ८५१ हेक्टर धान खेतीयोग्य जमिन रहेको जानकारी दिए । गत वर्ष १३ हजार ३९४ हेक्टरमा धान खेती गरिएकामा यस वर्ष थप २७७ हेक्टर गरी १३ हजार ६७१ हेक्टरमा धानखेती गरिएको ज्ञान केन्द्रका प्रमुख आचार्यको भनाइ छ । कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै सरकारले लगाएको लकडाउनका कारण जिल्लाबाहिर रहेको जनशक्ति घर फर्किएको, बर्सातले राम्रो साथ दिएको र अधिकांश परिवारका सदस्य अहिले खेतीपातीमा संलग्न हुने वातावरण बनेकाले यस वर्ष कृषि उत्पादनमा समेत उल्लेख्य वृद्धि हुने आँकलन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख आचार्यले जानकारी दिए ।


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।