Like us!
Follow us!

बारले बुधबार देशभरका उच्च अदालतमा प्रदर्शन गर्ने, कसले के भने ?

बारले बुधबार देशभरका उच्च अदालतमा प्रदर्शन गर्ने, कसले के भने ?

लगानी खबर, काठमाडौं - नेपाल बार एसोसिएसनले ८ मंसिर बुधबार देशभरका उच्च अदालतमा प्रदर्शन गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै बार तीन साताभन्दा बढी समयदेखि निरन्तर आन्दोलनमा छ । 

कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेको आरोप लगाउँदै बारले जबराको राजीनामा मागेको हो । सर्वाेच्च अदालत परिसरमा सोमबार भएको कोणसभामा कुन कानुन व्यवसायीले के भने :

चण्डेश्वर श्रेष्ठ : अध्यक्ष, नेपाल बार एसोसिएसन

जबराको पालामा तीन वर्षलगातार अन्याय भएको छ । फेरि एक वर्ष अन्याय हुन दिँदैनौं । गरिबका मुद्दा छोडेर के तपाई निरंकुश हो । के संविधानले निरंकुश हुने अधिकार दिएको छ ? तपाईंले विचौलिया भ्रष्टाचार चाहेको हो ?

गरिबका मुद्दा पन्छाएर बिचौलियाबाट करोडौं उठाएर धनीका मुद्दा हेरिरहेका छन् । अब सेवाग्राही अन्यायमा पर्दैन भनेर आवाज उठाएका छौं । 
८३ हजार कानुन व्यवसायी छौं । ९० इकाइ आन्दोलनमा छन् । इकाइबाट सर्वाेच्चमात्र होइन जिल्लामा पनि सुद्धीकरण अभियान चलाउने प्रस्ताव आएको छ । 

हामी अब ज्ञापनपत्र बुझाउन जाँदैछौं । भोलि पनि निरन्तर जारी रहन्छ । राजीनामा नआएसम्म जारी रहन्छ ।

कमल कोइराला, वरिष्ठ अधिवक्ता 

प्रजातन्त्रदेखि गणतन्त्र आयो । तर, भ्रष्टाचार रोकिएन । यो देशव्यापी भ्रष्टाचार विरूद्वको आन्दोलन हो । आन्दोलनले प्रधानन्यायाधीशको अधिकार कटौती भयो । सेटिङ रोकियो । न्यायाधीशले नै स्वच्छाको अभियान थाले । गोलाप्रथा ल्याए । न्यायाधीशको पनि साथ छ । भ्रष्टाचारले अन्याय हुन्छ ।

हरिशंकर निरौला, वरिष्ठ अधिवक्ता

आफ्नो इज्जत कसरी राख्ने भनेर इतिहासले मान्छलाई अवसर दिन्छ । अहिले प्रधानन्यायाधीश जबरालाई पनि त्यो मौका छ । सम्मानजनक बहिर्गमनको लागि आग्रह गरेका हौँ । हाम्रो यो आग्रहलाई कमजोर ठानेर जबरजस्ती बस्ने हो भने उहाँको विरूद्वमा हामीले नसोचेको कुरा आउँछ । आम जनता उर्लिन्छन् । त्यसकारण सम्मानजनक बहिर्गमन गर्नुपर्छ । उहाँको आयु लम्ब्याएर न्यायपालिकाको कल्याण हुँदैन । 

शिव रिजाल, अधिवक्ता 

हामी शान्तिकर्मी हो । हिंसा चाहँदैनौँ । भ्रष्टाचाररहित न्यायपालिकाका लागि लडिरहेका छौं । निर्भिक स्वतन्त्र र भ्रष्टाचाररहित अभियानमा लाग्न आह्वान गर्छाैँ । आज बौद्धिक लडाइँ लडिरहेका छौं । २०६२/०६३ जस्तो कानुन व्यवसायीको लडाइँ गर्ने अवस्था आउँछ । डिफेन्सिभ होइन अफेन्सिभ लडाइँ सुरू गर्नुपर्छ । युवाहरू उतारौं ।

आत्मालोचना गरेर सहज बहिर्गमन गर्नुहुन्छ कि सबै हतकण्डा अपनाएर निकाल्ने अवस्था आउँछ । दलहरू पनि पनि होस गर्नुस् । बन्दी जीवन बिताउने अवस्था नआओस् । होस् गर्नुस् । 

गणेश ओली, अधिवक्ता 

न्यायको माग गर्दै हिँड्ने कानुन व्यवसायीमाथिको दमन हो । बुट र लाठी बर्साइयो । हामी तपाईं (जबरा)को दमनबाट पछाडि हट्ने छैनौं ।

डिबी राई अधिवक्ता 

राजनीतिजस्तो न्यालय होइन । कालोमोसो दलेर फेरि माला लगाइन्छ राजनीतिमा । तर, न्यायलयको आफ्नै गरिमा छ । तपाईं (जबरा) निर्लज्ज भएर बस्नुहुँदैन ।  तपाईंको बहिर्गमन सोचेकोभन्दा भयावह र खतरनाक हुन्छ । बारको आन्दोलन बिलाएर जान्छ भन्ने नसोच्नुस् । सुद्धीकरणको अभियान रोकिँदैन । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।