लगानी खबर, सुरुङ्गा, झापालाई विविध कृषि उत्पादनको उर्वराभूमि मानिन्छ । ‘अन्न भण्डार’का रुपमासमेत चिनिएको झापाको एक लाख ५९ हजार ९०२ हेक्टर कूल क्षेत्रफलमध्ये ९० हजार हेक्टर क्षेत्रफलमा खाद्यान्न, तरकारी तथा नगदेबाली लगाइएको सरकारी तथ्याङ्क छ ।
तर, व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या भने न्यून छ । अझैपनि झापाका अधिकांश किसान परम्परागत खेतीमै निर्भर हुँदा सोचे अनुसारको प्रतिफल किसानले लिन नसकेको जिल्ला कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । व्यावसायिक र आधुनिक खेती गर्ने किसानले सोचेभन्दा राम्रो प्रतिफल लिइरहेको बाह्रदशी गाउँपालिकाका कृषि शाखा प्रमुख देवनारायण यादवले बताए।
गाउँपालिका– ७ डाडाँगाउँको मदन कृषि फार्म गाउँपालिकाकै नमूना भएको यादवले बताए । करिब १७ वर्षसम्म विदेश बसेर फर्कनुभएका मदन लिम्बूले अहिले सो ठाउँमा ३४ बिघा क्षेत्रफलमा खेती गरेका छन् । “विरिङ खोलाको बगरका रुपमा परिणत भएको काँसघारीमा उनले अहिले दुई हजार ४०० बोट कागती, चार हजार बोट सुपारी, त्यत्तिनै सङ्ख्यामा आँप लगाउनुभएको छ”, यादवले भने। लिम्बुले शुरु गरेको कृषि परियोजनामा ६० प्रजाति भन्दा बढीका बिरुवा लगाइएका कारण गाउँपालिकाकै नमूना कृषि फार्म बनेको छ । झण्डै रु दुई करोडको लागतमा सञ्चालनमा ल्याइएको सो फार्ममा अहिले मौसमी तथा बेमौसमी तरकारी खेतीसमेत गरिँदै आएको छ ।
दुई वर्षदेखि सञ्चालनमा आएको मदन कृषि फार्ममा लगाइएका कागतीले उत्पादन दिन शुरु गरेको छ । उता दमक नगरपालिका–२ का नेत्रप्रसाद जवेगुले च्याउ खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । सात वर्षदेखि नियमित च्याउखेती गर्दै आएका उनले मासिक रु पाँच लाखको हाराहारीमा आम्दानी लिने गरेको बताए ।
जिल्लाकै उत्कृष्ट किसानका रुपमा जवेगुले आर्थिक वर्ष २०७६/७७ मा जिल्ला कृषि ज्ञान केन्द्र झापाबाट रु ३३ लाख ७९ हजार अनुदानसमेत हात पारे । च्याउ पकेट कार्यक्रमका लागि सो रकम अनुदानमा पाएका उनले अहिले दैनिक एकदेखि डेढ क्वीटल च्याउ बिक्री गर्दै आएका छन् ।
पचास प्रतिशत किसानको सहभागिता रहने गरी सो समितिले अनुदान रकम लिएको समितिका कोषाध्यक्ष टङ्क कटुवालले बताए। त्यहाँका किसानले ६४ बिघामा आलुखेती गरेका थिए । सामूहिक प्रयासमा गरिएको आलुखेती जिल्लाकै नमूना भएको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।
कृषि ज्ञान केन्द्रमार्फत नै अनुदानको रकम पाउने अर्काे संस्था हो बाह्रदशी गाउँपालिका–७ मा रहेको दुर्गामाता केराखेती तथा कृषि फार्म । सो संस्थाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्लक विकास कार्यक्रमका लागि रु ३५ लाख अनुदान लिएको छ । संस्थाले रु ३५ लाख फार्मको लगानी रहने गरी सो रकम अनुदानमा लिएको हो ।
बाह्रदशी गाउँपालिका–५ को हरित क्रान्ति मकै ब्लक विकास कार्यक्रम सहकारी संस्थाले मकैखेतीका लागि रु २४ लाख ६८ हजार अनुदान लिएको छ । सय हेक्टर क्षेत्रफलमा मकै उत्पादन गर्ने भन्दै सो सहकारीले सरकारबाट रकम अनुदानमा लिएको हो । शिवसताक्षी–१ मा रहेको च्याउखेती किसान समूहले पनि २३ लाख ५५ हजार रुपैयाँ च्याउ खेतीका लागि राज्यबाट अनुदान लिएको छ । समूहले दश हजार केजी च्याउ उत्पादन गरेको छ ।
कृषिमा राम्रो काम गरेर सरकारबाट अनुदान लिने झापामा ५८ वटा फार्म, किसान समूह, कृषि सहकारी छन् । जिल्लामा सञ्चालित त्यस्ता फार्मले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा रु चार करोड बढी अनुदान रकम लिएको कृषि ज्ञान केन्द्र झापाको तथ्याङ्कमा उल्लेख छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।