Like us!
Follow us!

आज विश्व खाद्य दिवस

आज विश्व खाद्य दिवस

लगानी खबर, काठमाडाैँ - आज (शनिबार) १६ अक्टोबर अर्थात् विश्व खाद्य दिवस । ‘स्वस्थ भविष्यको लागि सुरक्षित खाना’ भन्ने नाराकासाथ शनिबार संसारभर ४१औँ विश्व खाद्य दिवस मनाइँदै छ । खाद्यान्न संकट तथा भोकमरिविरुद्ध लड्ने संयुक्त प्रतिवद्धताका साथ संसारभर विश्व खाद्यान्न दिवस मनाइन्छ । 

संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको प्रस्तावलाई राष्ट्र संघले पारित गरेसँगै सन् १९८१ देखि यो दिवस मनाइँदै आइएको हो । 

खाद्य तथा कृषि संगठनको स्थापना दिवसको अवसर पारेर विश्व खाद्य दिवस मनाइन्छ । खाद्य तथा कृषि संगठन १६ अक्टोबर सन् १९४५ मा स्थापना भएको थियो । 

सन् १९५१ को नोभेम्बरमा नेपालले खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो । नेपालले पनि सन् १९८१ मा ‘उब्जनी बढाऔं, सन्तुलित खाना खाऔँ, बढी जोगाऔँ’ भन्ने नाराकासाथ पहिलो खाद्य दिवस मनाएको थियो ।

नेपाल कृषिप्रधान देश भएर पनि हामी अर्बाैँ रुपैयाँ बराबरको धान, चामल, गहुँ, जौ, दलहन जस्ता खाद्यान्नहरू आयात गरिरहेका छौँ । अझ पनि ६० प्रतिशत नेपालीहरू कृषि पेसामा संलग्न भए पनि खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नुले नेपालको कृषि प्रणाली तथा सरकारको कृषि नीतिलाई गिज्याइरहेको छ ।

सन् १९६० को दशकमा विश्वमा चामल निर्यात गर्ने प्रमुख देशमा नेपाल छैटौँ स्थानमा थियो । तर, अहिले नेपालले अर्बाै रुपैयाँको खाद्यानन आयात गरिरहेको छ । 

जलवायु परिवर्तनले निम्त्याएको खाद्यान्न संकटलाई संसारभर अहिले २१औं शताब्दिको मुख्य चुनौतीको रुपमा हेरिएको छ । जलवायु परिवर्तनकै काराण संसारका धेरै जसो स्थानमा रहेको स्थानीय अन्नबालीसमेत हराउँदै गएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।