गाउँभरी युवा जम्मा भएर बाबियोको खरबाट निर्माण गरिएका डोरीबाट पिङ निर्माण गर्ने चलन जाजरकोटमा विस्तारै हराउँदै गएको छ । बढ्दो आधुनिकता र सहरीकरणका कारण अधिकांश चलनहरू लोप हुँदै गएको जानकारहरू बताएका छन् । रुकुम पश्चिम, जाजरकोट र तल्लो डोल्पामा पिङ निर्माण गर्ने चलन हराउँदै गएको हो ।
पिपल, वर, भिमल र चिउरीको रुखको हाँगामा बाबियोको डोरी बाँधेर दसैँ, तिहारको समयमा रमाइलो गर्ने चलन हराउँदै गएको हो । केही युवाहरू देश छोडेको, कोही पढ्न गएको र घरमा सीमित जनशक्ति भएकाले यस्ता खालका क्रियाकलाप लोप हुँदै गएको हुन् ।
धान , मकै लगायका अन्नहरू भित्र्याउँदै गर्दा थाकेको शरीरलाई पिङमा गएर रमाइलो गरेर ऊर्जा दिने काम हराएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए । सहर बजारमा बाँस र काठमा डोरी बाँधेर पिङ निर्माण गरे पनि गाउँमा भने अग्लो रुखको हाँगामा बाबियोको डोरी निर्माण गरी पिङ हाल्ने गर्ने चलन रहँदै आएको थियो ।
‘दसैँमा एकछिन भए पनि धर्तीमा टेक्नु हुँदैन’ भन्ने परम्परागत कथन छ । यस कथनमा कतिको वैज्ञानिक कारण छ त्यो त अलग्गै विषय हुनसक्छ । यही कथनलाई चरितार्थ गर्दै दसैँका बेला गाउँ शहर जताततै हालिने पिङ पछिल्ला केही वर्षयता हराउँदै जान थालेका छन् ।
गाउँघरका युवादेखि बुढापाका मिलेर खरबारीमा गई बाबियो काटेर रातमा पिङको लुठो बाटेर दिनमा बाँसको चारवटा लिङ्गा गाडेर अथवा पीपल आदि ठूलो रुखको हागाँमा पिङ बनाउने गरिन्थ्यो । दसैँको सुरुआतदेखि हालेको पिङ तिहारसम्मै राखिन्थ्यो । तर, गाउँ घरका युवा रोजगारीका लागि विदेशिन थालेपछि दसैँमा रौनक थप्ने लिङ्गे पिङ खेल्ने संस्कृति हराउँदै गएको स्थानीयवासीको भनाइ छ ।
आवश्यक सामग्री र बनाउने मान्छेको कमि छ । दक्ष जनशक्तिको अभावका कारण पनि पिङ संस्कृति हराउँदै गएको बताइएको छ । वैदेशिक रोजगारीबाट फर्केका युवाको गाउँमा पनि पिङको कुनै रौनक छैन । उनीहरू भेला भएर भलिबल, ब्याडमिन्टन, फुटबल र मोबाइलमा नानाथरिका खेल खेलिरहेका हुन्छन् ।
साथीभाइ भेला हुने, पार्टी खाने र रमाइलो गर्ने नाममा बजार र गाउँमा होटेल तथा रेष्टुरेन्टमा युवाको जमात देखिन्छ । तर, पिङ हालेर खेल्ने र परम्परागत प्रविधि तथा चलनहरूको संरक्षण गर्ने कार्यमा भने उनीहरू लाग्न नरुचाउने गरेको रुकुम पश्चिम आठबीसकोट बटालागाउँका रवि केसीले बताए ।
गाउँमा युवापुस्ताको उदासिनता र आधुनिकताको नाममा आयातित विभिन्न प्रविधिको बढ्दो मोहका कारण महान चाड दसैँ र तिहारमा निर्माण गरेर खेल्ने लिङ्गे पिङको प्रचलन विस्तारै हराउँदै गएको जानकारहरू बताउँछन् । जिल्लाका सबै ठाउँमा पिङ मात्र होइन मादल पनि हराउँदै गएका छन् । डेग, मोबाइल र रेडियोले त्यो स्थान लिएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।