लगानी खबर, काठमाडाैँ - बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हालै मात्र सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेकाे थियाे ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र सर्वसाधारणहरूका लागि बाँकी ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियाे ।
उक्त साधारण सेयर (आईपीओ) को बाँडफाँड असाेज २२ गते, शुक्रबार सम्पन्न भइसकेकाे छ । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्म २० लाख ३० हजार ९ सय ५५ जना आवेदकहरूले आवेदन दिएका थिए । जसमध्ये १६ हजार ३३ जनाको आवेदन रद्द भएको जस अनुसार २० लाख १४ हजार ९ सय २२ जना मात्र याेग्य आवेदक थिए । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले सेयर हात पारेका थिए । बाँकी १९ लाख ५६ हजार ५ सय ५५ जनाकाे भने हात खाली भएकाे छ ।
नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २ सय ५२ रुपैयाँ १५ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ ८४ रूपैयाँ ०५ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा २ सय ५२ रुपैयाँ १५ पैसा हुन्छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।