Like us!
Follow us!

मास्क नलगाए काठमाडौं उपत्यकामा सवारी चढ्न नपाइने

मास्क नलगाए काठमाडौं उपत्यकामा सवारी चढ्न नपाइने

लगानी खबर, काठमाडौं - काठमाडौं उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन् । 

काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले शुक्रबार बिहानदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो । उपत्यकाको भीडभाडलाई मध्यनजर गरी यहाँ सवारी साधन सञ्चालनमा छुट्टै मापदण्ड बनाएर लागू गरिएको हो ।

सोअनुसार स्वीकृत सिट क्षमताअनुसार मात्रै यात्रु राख्न, सबै यात्रुले अनिवार्यरूपमा मास्क लगाउन, मास्क नलगाएका यात्रुलाई सवारी साधानमा प्रवेश रोक लगाउन, चालक सहचालकले अनिवार्यरूपमा मास्क, भाइजर र पञ्जा लगाउन, सवारी साधनको ढोकामा अनिवार्यरूपमा स्यानिटाइजर राख्न, सवारी साधनलाई अनिवार्यरूपमा दैनिक स्यानिटाइज गर्न भनिएको छ । शुक्रवारदेखि लागू गरिएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि लागू हुने जानकारी दिइएको छ ।

कोभिड–१९ संक्रमण कायमै रहेकाले अनावश्यकरूपमा बाहिर ननिस्किन, भीडभाड, जुलुस, जात्रा, महोत्सव नगर्न भनिएको छ । चाडपर्व स्वास्थ्यका सबै मापदण्ड पालना गरी साङ्केतिकरूपमा मनाउनुपर्ने आदेशमा उल्लेख छ । 

चाडवाडको बेला हुनसक्ने सम्भावित जोखिबाट बच्न पनि अनुरोध गरिएको छ । यस्तै आधिकारिक काउन्टरबाट टिकट काटी यात्रा गर्न र सवारी साधनको छतमा यात्रु नराख्न पनि निर्देशन गरिएको छ ।

बैठक, गोष्ठी, सेमिनार गर्दा सकेसम्म भर्चुअल माध्यम प्रयोग गर्न र यदि उपस्थित हुनैपरेमा स्वास्थ्यका सबै मापदण्ड पालना गर्न भनिएको छ । 

सार्वजनिक सेवा प्रदायक संस्थालाई यथासम्भव अनलाइनबाट सेवा प्रवाह गर्न आग्रह गरिएको छ । उपस्थित हुनैपर्ने भएमा स्वास्थ्यका सबै मापदण्ड अपनाउन भनिएको छ ।

होटल पार्टीप्यालेसले पनि कर्मचारीलाई सकेसम्म आफैँ एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन भनिएको छ । सबै व्यवसाय सञ्चालन गर्दा भौतिक दूरी कायम गरी स्वास्थ्यका सबै मापदण्ड प्रयोग गर्न भनिएको छ । 

स्थानीय ढुवानी बिहान १देखि ११ र अपराह्न ४ः देखि ७ बजेसम्म नगर्न भनिएको छ भने निर्माण सामग्रीका ढुवानी बिहान १ देखि बिहान ५ बजेसम्म गर्नुपर्ने आदेशमा उल्लेख छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।