Like us!
Follow us!

दुई महीनामा आठ अर्ब राजस्व संकलन

दुई महीनामा आठ अर्ब राजस्व संकलन

लगानी खबर, काठमाडौं - सुक्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय वीरगञ्जले चालू आर्थिक वर्ष २०७८/०७९ को पछिल्लो दुई महीनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले दुई महीनामा आठ अर्ब राजस्व संकलन गरेको हो । 

पर्साको सिर्सियामा रहेको यहाँ विभिन्न मुलुकबाट भारतको कोलकाता बन्दरगाह हुँदै रेलमार्गबाट कन्टेनरमार्फत नेपालमा सामग्री भित्रिन्छ । यहाँ एकपटकमा ९० ओटासम्म कन्टेनरमार्फत विविध सामग्री नेपालमा आउने गर्दछ । 

गत साउन र भदौमा कुल रू. सात अर्ब सात करोड ५३ लाख ५६ हजार राजस्व संकलन गर्ने लक्ष्य लिइएको थियो । त्यसमा लक्ष्यभन्दा २० दशमलव ९६ प्रतिशतले वृद्धि भई कुल रू. आठ अर्ब ५५ करोड ८१ लाख राजस्व संकलन भएको छ । 

लामो समयको कोभिड–१९ को असहज अवस्था विस्तारै सुधार हुँदै जाँदा भारतसहित तेस्रो मुलुकबाट नेपालमा पछिल्लो समय सामग्रीको आयात बढेकाले लक्ष्यभन्दा बढी राजस्व संकलन भएको कार्यालय प्रमुख डा लालबहादुर खत्रीले जानकारी दिए । 

बढी राजस्व संकलन हुनेमा भन्सार महसुल पैठारीतर्फ रू. कुल तीन अर्ब ९० करोड ८२ लाख ९६ हजार र मूल्य अभिवृद्धि करतर्फ कुल रू. तीन अर्ब ९८ करोड ७६ लाख ८५ हजार ६७१ रुपैयाँ संकलन भएको छ । 

यस नाकामा विशेष गरी भारतसहित जापान, अमेरिका, बेलायत, इजरायल, दक्षिण कोरिया, खाडी क्षेत्रका विभिन्न देशबाट सामग्री आयात हुन्छ । 

ठूला उद्योग कलकारखानाका लागि आवश्यक कच्चा पदार्थ, सवारी साधन, उपकरण तथा सामग्री, मदिराजन्य पदार्थ, तयारी पोशाकलगायत सामग्री तेस्रो मुलुकबाट भित्रिन्छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।