Like us!
Follow us!

पचास वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला अधिकृतलाई

पचास वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला अधिकृतलाई

लगानीखबर, काठमाडौँ - पचास वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्मेवारी महिला प्रहरी अधिकृतले पाएकी छन  । जिल्ला प्रहरी कार्यालय कास्कीमा  कार्यरत प्रहरी निरीक्षक चन्द्रा गुरुङले उक्त जिम्मेवारी पाएकी हुन् । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन उपशाखाले उनलाई सशस्त्र प्रहरी गुल्म पोखराको गुल्मपतिमा काज खटाएको हो ।

अञ्चल सशस्त्र प्रहरी गुल्म, गण्डकी पोखराअन्तर्गत गुल्मपतिको नामावलीमा उनको नाम ३४ नम्बरमा छ । विसं २०२६  यताका गुल्मपतिमा उनी पहिलो महिला हुन् भने नेपालमा दोस्रो गुल्मपति हुन् । नेपालको पहिलो पूर्णिमा चन्द नारायणहिटी सुरक्षा गुल्मको गुल्मपति भएकी थिइन् ।
 
जिम्मेवारी बहनसँगै रासससँगको कुराकानीमा गुरुङले भने “तीन दशक लामो  प्रहरी सेवामा शान्ति सुरक्षा र अमनचयनलाई प्राथमिकता दिएर काम गर्दै आएकी छुु, गुल्मपतिको जिम्मेवारीलाई पनि यसको काम, कर्तव्य । अधिकारभित्र रहेर उत्कृृृष्ट बनाउनेतर्फ केन्द्रित हुनेछु ।” उनले गुल्मपतिको जिम्मेवारीले आफूलाई थप ऊर्जा र उत्साह थपेको बताउइन् । 

आपत्कालीन ब्याक फोर्सका रुपमा रहने गुल्ममा उहाँको नेतृत्वमा ११० प्रहरी रहनेछन् । गुल्ममा सशस्त्र हतियारसहितका प्रहरी सेवा सञ्चालनसम्बन्धी विविध तालिम प्रदान गरिन्छ । यसअघि उहाँले  दुई दशक लामो समय जिल्ला प्रहरी कार्यालय कास्कीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुखको  जिम्मेवारी बहन गर्दै आएकी थिइन् । 

कास्कीमा हुने विभिन्न आन्दोलन तथा प्रदर्शनमा हुने दङ्गा र भीड नियन्त्रणमा नेतृत्व गर्दै समन्वयकारी भूमिकासमेत गुरुङले बहन गरेकी छन् । विसं २०७२ सालमा मानव बेचबिखनविरुद्ध प्रभावकारी काम गरेको मूल्याङ्कनका आधारमा महिला तथा बालबालिका मन्त्रालयबाट सम्मानित हुनाका साथै दर्जनभन्दा बढी सङ्घसंस्थाबाट उनी सम्मानित भएकी छन् ।

प्रहरी सेवामा महिला सहभागिताले लैङ्गिक समावेशीकरण कायमका साथै समतामूलक र न्यायिक समाजको लागि भूमिका खेल्ने विश्वास उनको छ । उनले २०४९ सालमा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रारम्भ गरेकी हुन् । 


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।