लगानी खबर, काठमाडौं - राष्ट्रसंघीय बाल कोष युनिसेफले दक्षिण एसियाका बालबालिकाको सिकाइमा डरलाग्दो असमानता देखिएको जनाएको छ । कोभिडका कारण लामो समय विद्यालय बन्द हुँदा यस क्षेत्रका ४३ करोडभन्दा बढी विद्यार्थीको सिकाइ क्षमतामा असमानता देखिएको हो ।
‘दक्षिण एसियामा विद्यालय बन्द हुँदा यस क्षेत्रका लाखौ बालबालिका र उनीहरूका शिक्षकबीच भौतिक दूरी टाढा हुनुका साथै विद्यार्थीमा असमानता बढेको छ, ’ युनिसेफले भनेको छ ।
विद्यालय बन्द हुँदा विद्यार्थीको अध्ययन यात्रा पछाडि धकेलिएको पनि युनिसेफले जनाएको छ । घरबाटै अध्ययन गर्दा विद्यार्थीले तुलनात्मक रुपमा पहिलेको भन्दा थोरै सिकेका छन् । भारतमा १४ देखि १८ वर्षका ८० प्रतिशत बालबालिकाको सिकाइ तह घटेको छ ।
त्यस्तै, श्रीलंकामा बालबालिकाले पहिलेको तुलनामा थोरै पढेको प्राथमिक विद्यालयका ६९ प्रतिशत अभिभावकले गुनासो गरेका छन् । शारीरिक रूपमा अशक्त विद्यार्थीले अझै समस्या भोगेका छन् ।
पाकिस्तानको दुर्गम क्षेत्रका २३ प्रतिशत बालबालिकाको अनलाइन अध्ययनमा पहुँच नभएको पनि युनिसेफले जनाएको छ ।
लकडाउनपछि भौतिक रूपमा विद्यार्थीले शिक्षकलाई भेट्न नपाएको अध्ययनमा जनाइएको छ । यसैबीच, १८ महिनापछि पहिलोपटक बंगलादेशका विद्यालय खुलेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।