Like us!
Follow us!

कोभिडमा पनि विकास बैंक नाफामा, मुक्तिनाथले 'लिड' गर्दा गरिमा र ज्योति पछिपछि

कोभिडमा पनि विकास बैंक नाफामा, मुक्तिनाथले 'लिड' गर्दा गरिमा र ज्योति पछिपछि

लगानी खबर, काठमाडौं  - यतिबेला नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत अधिकांश कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले पनि गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । आज हामी राष्ट्र बैंकबाट 'ख' वर्गको मान्यता प्राप्त विकास बैंक समूहले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कस्तो वित्तीय प्रगति हासिल गरे सो सम्बन्धमा जानकारी दिन गइरहेका छौं । 

नेपालका १८ विकास बैंकहरुमध्ये १७ वटा बैंकहरु नेप्सेमा सूचिकृत छन् । ती सबै बैंकहरुले अहिले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । १८ वटा विकास बैंकहरु मध्ये खोटाङमा केन्द्रिय कार्यलय रहेको साल्पा विकास बैंकले हालसम्म पनि प्राथमिक सेयर निष्काशन नगरेकाले दोस्रो बजारमा सूचिकृत छैन  । 

सार्वजनिक वित्तीय विवरणअनुसार १७ मध्ये १५ वटा विकास बैंक नाफामा रहेका छन् भने नारायणी विकास बैंक घाटामा रहेको छ।

१७ वटा बिकास बैंकहरु मध्ये गत आर्थिक वर्षमा सबैभन्दा बढी खुद मुनाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म एक अर्ब १५ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएको छ । त्यसैगरी, दोस्रो र तेस्रोमा क्रमश: गरिमा विकास बैंक र ज्योति विकास बैंक रहेका छन् । यता ग्रीन डेभलपमेन्ट बैंकले भने सबैभन्दा कम एक करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

सामान्यतय, कम्पनीमा कति वितरण योग्य मुनाफा छ त्यसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई कतिसम्म लाभांश वितरण गर्नसक्छ भन्ने कुराको पूर्वानुमान गर्न सकिन्छ । वितरणयोग्य नाफामा पनि मुक्तिनाथ विकास बैंक नै अब्बल रहेको छ  । बैंकले असार मसान्तसम्म ८६ करोड ५ लाखभन्दा बढी वितरणयोग्य नाफा आर्जन गरेको छ  । त्यसैगरी, क्रमश गरिमा विकास बैंकले ६० करोड ५७ लाख र ज्योति विकास बैंकले ६० करोड ३० लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेका छन् । यता, नारायणी डेभलपमेन्ट बैंक भने २१ करोड ८३ लाख ऋणात्मक रहेको छ ।

चुक्ता पूँजीको कुरा गर्नुपर्दा पनि मुक्तिनाथ विकास बैंकले नै अग्रस्थान ओगटेको छ । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ८१ करोड १५ लाख रुपैयाँ रहेको छ । चुक्ता पूँजीमा पनि मुक्तिनाथलाई गरिमा र ज्योतिले पछ्याएका छन् । गरिमा विकास बैंकको चुक्ता पूँजी हाल ३ अर्ब ९४ करोड ८१ लाख र ज्योति विकास बैंकको ३ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै १७ वटा विकास बैंक मध्ये प्रतिसेयर आम्दानी सबैभन्दा बढी कामना सेवा विकास बैंकको रहेको छ । कामनाको प्रति सेयर आम्दानी २६ रुपैयाँ ४० पैसा रहेको छ । त्यसैगरी, क्रमशः मुक्तिनाथ विकास बैंकको २३ रुपैयाँ ९२ पैसा, ज्योति विकास बैंकको २१ रुपैयाँ ४६ पैसा र गरिमा विकास बैंकको २१ रुपैयाँ ३९ पैसा रहेको छ।  

 गत आर्थिक बर्षको चौथौ त्रैमाससम्मको वित्तिय विवरण यस्तो छः

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।