Like us!
Follow us!

मानुषी लघुवित्तको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ? यस्तो छ सम्भावना

मानुषी लघुवित्तको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ? यस्तो छ सम्भावना

लगानी खबर, काठमाडौं - मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भइसकेको छ ।  कम्पनीको आईपीओको बाँडफाँड आज (साेमबार) सम्पन्न भएकाे छ । 

संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

अन्तिम दिनसम्ममा २३ लाख ६१ हजार ८ सय २७ जनाको आवेदन परेकोमा भाग्यशाली ३६ हजार ८ सय ६२ जनाले सेयर हात पारेका छन् । जसमा ३६ हजार ८ सय ५९ जनाले १० कित्ता र ३ जना आवेदकले थप १ कित्ता गरेर कूल ११ कित्ता सेयर हात पारेका छन्  ।  ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ भने बाँकी  २३ लाख २४ हजार आवेदकको भने हात खाली भएकाे छ ।

आईपीओ बाँडफाँड भएपश्चात धितोपत्र दोस्रो बजारमा यसको पहिलो कारोबार कतिमा होला भन्ने प्रश्न लगानीकर्ताको मनमा उब्जिएको छ ।  हामी आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओले ओपनिङ रेन्ज कति पाउला  भन्नेबारे जानकारी दिन गइरहेका छौं  । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले  पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३२ रूपैयाँ ६९ पैसादेखि अधिकतम ३९८ रुपैयाँ ०७ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

संस्थाको आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ १३२ रूपैयाँ ६९ पैसा  रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३९८ रुपैयाँ ०७ पैसा हुन्छ ।

संस्थाको वित्तीय अवस्था कस्तो छ ?

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १ करोड १९ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २३८५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ४ लाख ७९ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ५८ लाख ८२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ७ करोड २८ लाख ४५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिसम्ममा संस्थाको सञ्चालन नाफामा पनि सामान्य बृद्धि भएको छ । समिक्षा अवधिमा संस्थाको यस्तो मूनाफा बृद्धि भएर १ करोड ८९ लाख ३४ हजार रुपैयाँ पुगेको छ जुन अघिल्लो आर्थिक बर्षमा  १ करोड ८९ लाख २२ हजार रुपैयाँमा सिमित थियो ।

त्यस्तै, संस्थाको चुक्ता पूँजी ७ करोड रूपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा ३ करोड ४ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा संस्थाको रिजर्भको आकारमा २८.७ प्रतिशतले बृद्धि भएको छ ।  

समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी १७ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ७९ पैसा रहेको छ ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।