लगानी खबर, काठमाडौं - मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड साउन २६ गते, मंगलबार भइसकेकाे छ । दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीकाे काराेबार अब छिट्टै नै सुरू हुनेछ ।
कम्पनीकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासाेकाे विषय बनेकाे छ । त्यसैले यहाँ हामी साेही विषयमा कुरा गर्नेछाैँ ।
नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९५ रुपैयाँ ७५ पैसादेखि र अधिकतम २८७ रुपैयाँ २५ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।
कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ७५ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा २८७ रुपैयाँ २५ पैसा हुन्छ ।
कम्पनीले साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको थियाे ।
अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ जनाले आवेदकले २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन दिएका थिए ।
गाेलाप्रथाबाट गरिएकाे बाँडफाँड सर्वसाधारणलाई छुट्याएको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता सेयर ६८ हजार ४ सय ७४ जनाले समान १० कित्ताका दरले प्राप्त गरेका थिए । यस्तै, १० कित्ता भन्दा बढीका लागि आवेदन दिने आवेदकहरुमध्येबाट ६ जनाले ११ कित्ता सेयर प्राप्त गरेका थिए ।
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०५९ साउन ७ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा प्राइभेट कम्पनीको रुपमा दर्ता भएर २०७१ भदौ ६ गते पब्लिक कम्पनीको रुपमा दर्ता भई कारोबार सञ्चालन गर्दै आइरहेको कम्पनी हो ।
कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्ममा प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ७२ पैसा र प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८५ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।