Like us!
Follow us!

बैंकको जागिर छाडेर व्यावसायिक कृषिमा

बैंकको जागिर छाडेर व्यावसायिक कृषिमा

लगानीखबर, काठमाडौँ- बैंकको जागिर छाडेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० त्रिपुरेश्वर (टोटी)का दलबहादुर ऐरले व्यावसायिक कृषि फार्म सञ्चालन गरेका छन् ।
  नेपाल बैंक लिमिटेडमा २९ वर्ष जागिर गरी उपप्रबन्धक पदबाट राजिनामा दिएर ऐर कृषि फार्म सञ्चालन गरेका हुन् । उनले रु ५२ लाख लगानी गरेर आफ्नै स्वामित्वको तीन बिघा जग्गामा कालिका कृषि फार्म सञ्चालन गरेका छन् । 

  फार्ममा साकिनी, घाँटी खुइले, उल्टा प्वाँखे, ककडनाथलगायत स्थानीय जातका एक हजारभन्दा बढी कुखुरा पालिएका छन् । फार्मबाट ४०० बढी कुखुरा बिक्री भएका छन् । कुखुरासँगै फार्ममा कालिज, बट्टाई, लौकाट, चाइनिज बतख टर्की पनि पालिएका छन् । 

 बन्दाबन्दीकैबीच ठूलो रकम लगानी गरी फार्म सञ्चालन गरेका छौँ”, ऐरले भने, “स्थानीय जातका कुखुरा उत्पादन गरी नगरपालिकालाई आत्मनिर्भर बनाउन चाहन्छौँ ।” उहाँले भन्नुभयो, “स्थानीय जातका कुखुराको अधिक माग छ । तर जोखिम पनि उत्तिकै छ ।” बैंककै रोजगारीका सिलसिलमा गैरसरकारी संस्थाको कार्यक्रममा सहभागी हुँदा कुखुरापालन र कृषि कार्यसम्बन्धी अनुभव लिएकाले कृषि फार्म सञ्चालन गर्न सहज भएको उहाँले बताउनुभयो । स्थानीय जातका कुखुराका चल्लासँगै बट्टाइका चल्ला उत्पादनको कार्यसमेत फार्ममा हुने गरेको छ । फार्म सञ्चालक ऐरले मेसिनको व्यवस्था गरी ह्याचरीसमेत सञ्चालन गरेका छन् ।

 फार्ममा रहका दुई वटा पोखरीमा २० हजार विभिन्न प्रजातिका माछाका भुरा हालेर माछापालनको कार्यसमेत शुरु गरिएको छ । खोर सुधारमा रु दुई लाख र पोखरी निर्माणमा रु ९२ हजार रकम अनुदानका रुपमा ऐरले पाउनुभएको छ । “फार्ममा माछा, कुखुरा र अन्य प्रजातिका पक्षीपालनसँगै होटेल, स्वीमिङ पुलको व्यवस्था गरी एग्रो टुरिजमका लागि कार्य अगाडि बढाउने योजना छ”, फार्म सञ्चालक ऐरले भन्नुभयो, “आफ्नै लगानीले भ्याउन नसकिने भएकाले सरकारले यसका लागि अनुदान रकमको व्यवस्था गरिदिए व्यवसायलाई अगाडि बढाउन सहज हुन्थ्यो ।”
 
  
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।