Like us!
Follow us!

जापानबाट फेरि आइपुग्यो ३ लाख खोप

जापानबाट फेरि आइपुग्यो ३ लाख खोप

लगानी खबर, काठमाडौं - जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करीब ३ लाख खोप आइपुगेको छ ।     
     
 कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा अस्त्रजेनेकाको ३ लाख मात्रा खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए। जापानले नेपाललाई १६ लाख मात्रा अस्त्रजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै शनिवार ५ लाखमात्रा खोप आएको थियो । बाँकी खोप एक सातापछि आउने मन्त्रालयले बताएको छ ।     
     
 यसअघि शुक्रवार भुटानबाट २ लाख ३० हजार मात्रा कोभिशिल्ड खोप प्राप्त भएको थियो । जापानबाट प्राप्त खोप पहिलो मात्रा लगाएका नागरिकलाई लगाइनेछ । हालसम्म खरीद र अनुदान गरेर करीब १ करोड मात्रा खोप स्वदेश आइपुगेको छ । नेपालले ६० लाख मात्रा खोप खरीद गरेको छ । चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिशिल्ड खोप खरीद गरिएको छ । भारतबाट खरीद गरिएकामध्ये १० लाख मात्रा खोप अझैसम्म आपूर्ति भएको छैन ।     
     
 यसैगरी भारतबाट अनुदानमा ११ लाख कोभिशिल्ड (नेपाली सेनासहित) प्राप्त भएको छ । चीनबाट १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ । यस्तै गाभीबाट ३ लाख ४८ हजार कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार जे एण्ड जे खोप अनुदानमा प्राप्त भएको मन्त्रालयले जनाएको छ ।     
     
 खोपको नियमित आपूर्ति हुन थालेपछि सरकारले खोप केन्द्र पनि थप गरिएको छ । खोप केन्द्रमा भीडभाड देखिएको र खोप लगाउनेबाटै सङ्क्रमण फैलनसक्ने देखिएपछि सरकारले १ हजार ४३३ खोप केन्द्र थप गरेको हो ।

पहिले २ हजार ९८९ ओटा  खोप केन्द्र भएकामा अहिले त्यो सङ्ख्या ४ हजार ४२२ पुर्‍याइएको छ । काठमाडौं उपत्यकामा ८३ ओटा खोप केन्द्र थप गरी १४९ ओटा पुर्‍याइएको छ । रासस

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।