Like us!
Follow us!

कोरोना भाइरस संक्रमण हुँदा मान्छेको शरीरमा के हुन्छ ? जान्नुहोस्

कोरोना भाइरस संक्रमण हुँदा मान्छेको शरीरमा के हुन्छ ? जान्नुहोस्

लगानीखबर, काठमाडौं । यतिबेला विश्व नै कोरोना भाइरसको महामारीबाट आक्रान्त बनेको छ । गत वर्षको डिसेम्बरमा चीनको वुहान शहरबाट फैलिएको यो भाइरस विश्वका २ सयभन्दा बढी देशमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड-१९ नाम दिएको यो भाइरसबाट नेपाल पनि अछुतो रहन सकेको छैन ।

नेपालमा हालसम्म ४५ हजारभन्दा बढी मानिस यसबाट संक्रमित भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २८० जनाको मृत्यु भइसकेको छ, भने २७ हजारभन्दा बढी मानिस संक्रमणमुक्त भएका छन् ।

के हो कोरोना भाइरस ?
कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ ।
यसले मानिसको शरीरमा भिन्न भिन्न असर पुर्याउँछ । धेरै संक्रमितमा कुनै लक्षण देखाउँदैन । तर केहिलाई भने हप्तौँसम्म अस्पतालमा राख्नुपर्ने हुन्छ । त्यसो भए यो रोगले शरीरमा कसरी असर गर्छ त ? यो बारे सबैजना जानकार रहनुपर्छ । 

कोरोना भाइरस संक्रमण हुँदा मान्छेको शरीरमा के हुन्छ?

कोरोना भाइरस नाक, मुख र आँखाको माध्यमबाट शरीरमा प्रवेश गर्छ । पहिला यो नाक, घाँटी, श्वासनली र फोक्सोको सतहमा भएका कोषहरुमा टाँसिन्छ । त्यसपछि ती कोषहरुमा आफ्नो सख्या वृद्धि गर्छ ।

गम्भीर संक्रमण हुँदा बिरामीमा ज्वरो र खोकी देखिन्छ । अनि सास फेर्न गार्हो हुन्छ । 

यो भाइरसले फोक्सोको सतहमा भएका रक्तनलीहरुमा क्षति पुर्याउन तथा रगत जम्ने क्रम सुरु गराउन सक्छ । फोक्सोमा हुने स-साना कक्षबाट रगतमा अक्सिजन जान्छ । तीनमा जलन र सुजन भयो भयो भने निमोनिया हुन पनि सक्छ ।

सिकिस्त बिरामी परेका व्यक्तिलाई अक्सिजन दिनुपर्छ । किनभने फोक्सोमा विकार र तरल पदार्थ जमेको हुन्छ ।

कोरोनाले केवल फोक्सोलाई मात्र क्षति पुर्याउँदैन यसले बाह्य आक्रमण प्रतिरोध गर्ने शरीरको क्षमतालाई पनि छिन्नभिन्न पारिदिन्छ ।

शरीरले बनाउने साईटकाईन नामक सुक्ष्म प्रोटिनले संक्रमण पत्ता लगाउँछ । तर कोरोनाका गम्भीर बिरामीमा यो प्रणाली अतिसक्रिय भइदिन सक्छ । यदि धेरै साईटकाईन उत्पादन भयो भने त्यसले शरीरको स्वस्थ कोषलाई नै हानी पुर्याइदिन्छ । अति गम्भीर बिरामीमा हुने त्यो प्रक्रियालाई 'साईटकाईन स्टोर्म' भनिन्छ । 

कोरोनाका बिरामी मुर्छा पर्ने वा कोमामा जाने पनि हुनसक्छ । यसले मस्तिष्कमा विभिन्न समस्या र मस्तिष्कघात पनि गराउन सक्छ ।

पप्रतिरोध प्रणाली अति सक्रिय हुँदा शरीरभित्रै रगत जम्न सक्छ । त्यसले मस्तिष्कमा राम्ररी रगतको आपूर्ति नहुन सक्छ मस्तिष्कको सूजन, विक्षिप्तता र विस्मृतिजस्ता लक्षणहरु बिरामीमा देखा पर्न थाल्छ ।

औसत संक्रमित व्यक्तिहरु १४ दिन बिरामी पर्न सक्छन् । तर धेरै मानिसमा लामो समय लक्षण देखिन सक्छ ।

सास फेर्न कठिनाइ र थकान केहि व्यक्तिमा महिनौंसम्म हुनसक्छ । 

गम्भीर लक्षण देखिने सम्भावना भएका व्यक्तिमा पाका उमेर भएका र विभिन्न स्वास्थ्य समस्या भएका व्यक्ति छन् । तर कसको शरीरमा के हुन्छ भन्ने कुरा संक्रमण नभई थाहा हुँदैन ।  त्यसैले सबैले आफू सुरक्षित रहने उपाय गर्नु राम्रो हुन्छ । बिबिसीबाट

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।