लगानी खबर, काठमाडाैँ - सामलिङ्ग पावर कम्पनी लिमिटेडले साउन २२ गतेबाट आईपिओको निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानियहरुका लागि बिक्री खुल्ला गर्ने भएको हो ।
कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार ३१ गते आईपीओ निष्कासन गर्ने अनुमति प्रदान गरेको हो ।
यो मध्य कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुको लागि ५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल सेयरमध्ये ६० प्रतिशत अर्थात ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।
आईपिओमा छिटोमा भदौ ४ गते र भने ढिलोमा भदौ २० गते सम्ममा आवेदन दिनुपर्नेछ । कम्पनीको आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले गर्नेछ । आईपीओमा नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।