Like us!
Follow us!

बैंकहरूकाे वित्तीय विवरण प्रकाशन गर्ने म्याद थप, लघुवित्तहरूको लाभांश वितरणमा नयाँ व्यवस्था

बैंकहरूकाे वित्तीय विवरण प्रकाशन गर्ने म्याद थप, लघुवित्तहरूको लाभांश वितरणमा नयाँ व्यवस्था

लगानी खबर, काठमाडाैँ - बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्ष  २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण आगामी साउन मसान्तसम्म प्रकाशन गर्न पाउने भएका छन् ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) प्रकाशन गर्ने अवधि २०७८ साउन मसान्तसम्म कायम गरेको हाे ।

बैंक तथा वित्तीय संस्थाले एकीकृत वित्तीय प्रतिवेदन लगायत प्रमुख वित्तीय परिसूचकहरुको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) यस प्रयोजनका लागि तोकिएको ढाँचामा हरेक त्रैमासको महिना व्यतित भएको मितिले १५ दिनभित्र कुनै एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशित गरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई समेत उपलब्ध गराउनु पर्ने निर्देशनमा उल्लेख छ । 

तर, आर्थिक वर्ष २०७७/७८ को चौथो त्रयमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) प्रकाशन गर्ने अवधि २०७८ साउन मसान्तसम्म कायम गरिएको छ ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकले लघुवित्तहरूको लाभांश वितरणमा नयाँ व्यवस्था लागू गरेकाे छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा संशोधन-परिमार्जन गर्दै नयाँ व्यवस्था लागू गरेकाे हाे ।

नयाँ निर्देशन अनुसार अब लघुवित्तहरूले वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दामाथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नु पर्नेछ । यसअघि वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशतले हुने रकम छुट्ट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो ।

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।