Like us!
Follow us!

लक्ष्यभन्दा १८ प्रतिशत कम राजश्व सङ्कलन

लक्ष्यभन्दा १८ प्रतिशत कम राजश्व सङ्कलन

लगानी खबर, काठमाडौं - आन्तरिक राजश्व कार्यालय कावासोती नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यभन्दा करीब १८ प्रतिशत कम राजश्व सङ्कलन गरेको छ । 

कार्यालयले २०७८ असार मसान्तसम्म रु २० अर्ब ३० करोड ९४ लाख ४० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य पाएकामा रु १६ अर्ब ६१ करोड ५९ लाख ३७ हजार मात्रै राजश्व सङ्कलन गर्न सफल भएको कार्यालयका सूचना अधिकारी अमृत अधिकारीले जानकारी दिए । उनका अनुसार कार्यालयले राजश्व सङ्कलनमा ८१ दशमलब ८१ प्रतिशत मात्रै प्रगति हासिल गरेको हो । कार्यालयले सङ्कलन गरेको राजश्व रकम लक्ष्यभन्दा रु तीन अर्ब ६९ करोड ३५ लाख तीन हजार अर्थात १८ दशमलब १९ प्रतिशतले थोरै हो । 

आन्तरिक राजश्व कार्यालय कावासोतीले आय कर र मूल्य अभिवृद्धिकरमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको भए पनि अन्तःशुल्कमा कम राजश्व सङ्कलन हुँदा लक्ष्यअनुसार प्रगति भेटाउन नसकेको अधिकारीले बताए । कार्यालयले आय करतर्फ रु ४६ करोड ३६ लाख ५१ हजार राजश्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखेकामा रु ६१ करोड ५९ लाख ६३ हजार सङ्कलन गर्न सफल भएको उहाँले बताउनुभयो । आयकरमा सङ्कलन भएको राजश्व लक्ष्यभन्दा ३२ प्रतिशतले बढी हो । 

त्यस्तै मूल्य अभिवृद्धि करतर्फ लक्ष्यभन्दा ७६ प्रतिशत बढी राजश्व सङ्कलन भएको अधिकारीले बताए । उनका अनुसार मूल्य अभिवृद्धि कर शीर्षकमा रु २२ करोड चार लाख ४० हजार राजश्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेकामा रु ३९ करोड ८५ हजार राजश्व सङ्कलन भएको छ । कार्यालयले अन्तःशुल्कमा भने लक्ष्यभन्दा करीब २० दशमलब ४६ प्रतिशत कम राजश्व सङ्कलन गरेको अधिकारीले बताए । 

“हामीले अन्तःशुल्कमा रु १९ अर्ब ६२ करोड ५३ लाख ४९ हजार राजश्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखेका थियौँ, तर रु १५ अर्ब ६० करोड ९८ लाख ८९ हजार मात्रै राजश्व सङ्कलन भएको छ”, अधिकारीले भने, “लक डाउन र निषेधाज्ञाका कारण औद्योगिक प्रतिष्ठानले बजारमा बियर र मदिरा बिक्रीवितरण गर्न नसकेका कारणले राजश्व सङ्कलनमा कमी आएको हो ।” अन्तःशुल्कमा लक्ष्यअनुसारको प्रगति भेटाउन नसकेपछि अन्य शीर्षकमा बढी राजश्व सङ्कलन भए पनि वार्षिक लक्ष्य भेटाउन नसकिएको अधिकारीको भनाइ छ । 

आर्थिक वर्ष २०७७÷७८ मा आय करतर्फ सबैभन्दा धेरै कर तिर्ने करदाताको रुपमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्था रहेको अधिकारीले जानकारी दिए । “गत वर्ष इन्फिनिटी लघुवित्तले रु पाँच करोड ७८ लाख ५७ हजार राजश्व बुझाएको छ”, अधिकारीले भने, “त्यसैगरी दोस्रो नम्बरमा विजय लघुवित्तले रु पाँच करोड ६० लाख १३ हजार राजश्व बुझाएको छ ।” 

आन्तरिक राजश्व कार्यालय कावासोतीमा अन्तःशुल्कतर्फ सबैभन्दा बढी राजश्व बुझाउने उद्योगमा गोर्खा ब्रुअरी प्रालि रहेको छ । गोर्खा ब्रुअरीले एक वर्षको अवधिमा रु १० अर्ब १० करोड ४६ लाख २४ हजार राजश्व बुझाएको अधिकारीले बताए ।

 त्यस्तै चौधरी ग्रुपको सिजी ब्रुअरी प्रालिले रु चार अर्ब २८ करोड ५९ लाख १९ हजार, चौधरी ग्रुपकै सिजी फुड्स प्रालिले रु ७२ करोड ९६ लाख आठ हजार, सुमी डिस्टिलरी प्रालिले रु २४ करोड ८७ लाख ३० हजार, नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम् सिमेन्ट प्रालिले रु १५ करोड ८७ लाख १२ हजार तथा देवचुली डिस्टिलरी प्रालिले रु १० करोड २१ लाख ५० हजार राजश्व बुझाएका अधिकारीले जानकारी दिए । 

अघिल्लो आर्थिक वर्ष २०७६÷७७ सम्म नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का करदाताले आन्तरिक राजश्व कार्यालय भरतपुर चितवनमा कर बुझाउँदै आएका थिए । गत वर्षको साउन १ गतेदेखि भने जिल्लाकै कावासोतीमा आन्तरिक राजश्व कार्यालय स्थापना भएपछि जिल्लाभित्रका सबै करदाताले यही कार्यालयमा राजश्व बुझाउन थालेका हुन् । 

विसं २०७८ असार मसान्तसम्म जिल्लामा आयकर बुझाउने करदाता २२ हजार १०२, मूल्य अभिवृद्धि कर बुझाउने करदाता दुई हजार ७४९, अन्तःशुल्क बुझाउने करदाता दुई हजार ८३, सरकारी कार्यालयहरु ५६ तथा व्यक्तिगत पान नम्बर लिने १५ हजार ९५७ पुगेका आन्तरिक राजश्व कार्यालय कावासोतीले जनाएको छ । रासस 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।