लगानी खबर, काठमाडौं - साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा रौनकता छाएको छ । आज नेप्से परिसूचक र कारोबार रकम दुवै बढेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ७३.३३ अंकले बढेर २८९८.४३ बिन्दुमा पुगेको छ । आज नेप्से परिसूचक २.६० प्रतिशतले बढेको हो । लामो समयपछि सेयर बजारमा भारी अंकको वृद्धि देखिएको हो ।
आज कारोबार रकममा पनि भारी वृद्धि देखिएको छ । पछिल्लो समय ४ अर्बमा खुम्चिएको कारोबार रकम आइतबार ८ अर्बमा पुगेको छ । आइतबार कूल २२५ कम्पनीको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कूल १३ उपसमूहमा १३ वटै कम्पनीको सेयर मूल्य बढेको छ । आज फाइनान्स र डेभलपमेन्ट बैंकमा लगानीकर्ता आकर्षित भएका छन् । आइतबार १७८ कम्पनीको सेयरमूल्य बढेको छ भने ४ कम्पनीको सेयरमूल्य घटेको छ । त्यसैगरी, एक कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
आज २ दर्जन कम्पनीको सेयर कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ । जसमध्ये ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र आईसीएफसी फाइनान्सको सेयरको मूल्य १० प्रतिशतले बढेको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।