Like us!
Follow us!

माथिल्लो तामाकोशीबाट आजदेखि परीक्षण विद्युत् उत्पादन हुने

माथिल्लो तामाकोशीबाट आजदेखि परीक्षण विद्युत् उत्पादन हुने

लगानी खबर, काठमाडौं - राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आजदेखि परीक्षण विद्युत् उत्पादन हुँदैछ । उक्त आयोजनाको पहिलो युनिटबाट कूल ४५६ मेगावाट क्षमताको बिजुली उत्पादन गर्न लागेको हो । उक्त आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

आजदेखि आयोजनाबाट उत्पादित ७६ मेगावाट बिजुली पहाडी क्षेत्रमा उत्पादन भए पनि धनुषाको ढल्केबर हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । आयोजनाले आइतबार विद्युतगृह रहेको गोगरदेखि खिम्तीसम्मको कुल ४७ दशमलब २ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले शनिबार मात्रै ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो । 
 
यस्तै, जिआइएस समेत चार्ज भएको छ । सूचना प्रणालीका लागि अप्टिकल फाइबरसमेत जोडिएको छ । आइतबारसम्म आयोजनामा जडान गरिएका उपकरण नो लोडमा चलाइएको थियो भने अब सोमबारदेखि ती उपकरणलाई लोडमा चलाइने छ । आयोजनाबाट उत्पादित बिजुली विद्युतगृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ । ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । 
 
यस्तै, असार मसान्तभित्रै आयोजनाको अर्को एक युनिटबाट समेत बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी गरिएको छ । प्राकृतिक विपत्ति तथा अनेकन समस्यासँग जुध्दै स्वदेशी लगानीकै सबैभन्दा ठूलो आयोजना अन्तिम चरणमा पुगेको हो। 
 
माथिल्लो तामाकोशीको विद्युतगृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सवस्टेशनमा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणको प्रणाली सञ्चालन विभागले यही असार १२ गते एक सूचनामार्फत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने कार्यक्रम भएकाले खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने जानकारी दिएको थियो ।
 
उक्त अवस्थामा प्रणालीमा विद्युत् अपुग हुने भएकाले ढल्केबारदेखि कोहरपुरसम्मका सवस्टेशनबाट विद्युत् आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकको छोटा समयका लागि विद्युत् कटौती भएको थियो । त्यस समयमा प्राधिकरणले कुलेखानी जलाशयको पानी प्रयोग गरी यथाशक्य विद्युत् कटौतीको समय कम गर्न प्रयास गरेको थियो। यसअघि आयोजनाको सुरुङमा पानी हालेर हाल पनि परीक्षणलगायतका काम नियमित गरिएको थियो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।