Like us!
Follow us!

साञ्जेन विद्युत् आयोजना यसै वर्षभित्र सम्पन्न हुने

साञ्जेन विद्युत् आयोजना यसै वर्षभित्र सम्पन्न हुने

लगानी खबर, काठमाडौं - निर्माणाधीन माथिल्लो साञ्जेन विद्युत् आयोजनाको छिट्टै उपकरण जडान हुने भएको छ । सिम्बु गाउँमा रहेको सो आयोजनाको भौतिक निर्माण सम्पन्न भई विद्युत उत्पादन गर्ने उपकरण जडान शुरूवात हुन लागेको हो । अहिले अधिकांश उपकरण आयोजनास्थलमा आइसकेको र कोभिड–१९ समस्याले उपकरण जडान ढिलो भएको आयोजना प्रमुख सुदनसिंह महतले जानकारी दिएका छन् । उनले भने “विसं २०७८ भित्र विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । अब छिट्टै उपकरण जडान शुरुवात हुन्छ । ”

उपकरण जडानका लागि चिनियाँ प्राविधिक टोली आउन लागेका जनाइएको छ । हाल चीनले बाह्य हवाई उड्डयन रोकेकाले उनीहरु आउन ढिलाई भएको आयोजनाले जनाएको छ । चौध दशमलव आठ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको सो आयोजनाको प्रायःजसो संरचना निर्माण पूरा भएको छ । तिलोचे खोलामा १४ मिटर लामो बाँध ,एक हजार तीन सय ८० मिटर लामो हेडरेस सुरूङ , तीन सय ४५ मिटरको पेनस्टक पाइप सुरूङ एवं पाइपलाई कंक्रिट समेतका निर्माण सम्पन्न भएको आयोजना प्रमुख महतले जानकारी दिएका छन् ।

प्रतिसेकेण्ड ११ दशमलव सात धनमिटर पानी विद्युत गृहमा पठाइने र तीन फ्रान्सिस नामको टरवाइन राखिने बताइएको छ । दुई वर्ष भित्र सम्पन्न गर्ने लक्ष्यका साथ सन् २०१३ देखि निर्माण शुरूवात भएको थियो । बाढी पहिरो , पेट्रोलियम पर्दाथको अभाव , भूकम्प र कोरोना सङ्क्रमणको जोखिम जस्ता विविध कारणले सो आयोजनाको निर्माण ढिलाइ भएको जनाइएको छ । आयोजनाको लागत भने रू दुई अर्ब दुई करोड रहेतापनि पुनरावलोकन गर्दा २० प्रतिशतले उत्पादन लागत बढ्ने आयोजना प्रमुख महतले बताए । – रासस

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।