लगानी खबर, काठमाडौं - मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे दोस्रो दिन आजसम्म १२ लाख भन्दा आवेदकले आवेदन दिएका छन् । आज बिहानसम्म ४५ गुणाभन्दा धेरै आवेदन परेको हो ।
सीडीएससीका अनुसार दोस्रो दिन साँझ ५ बजेसम्म यो आईपीओमा १२ लाख ३१ हजार २११ आवेदकले १ करोड ६३ लाख ८९ हजार ८४० कित्ताका लागि खरिद आवेदन दिएका छन् । जुन सर्वसाधारणलाई माग गरिएको भन्दा ४५.०९ गुणा बढी आवेदन हो।
कम्पनीले हिजाे (असार १७ गते, बिहिबार) बाट १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्नलागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछन् भने अनलाईन मार्फत मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
पछिल्लो समय आईपीओमा लगानीकर्ताको आकर्षण निकै बढ्दै गइरहेको छ । यसअघि असार ११ गतेबाट बिक्री खुल्ला भएको जीवन विकास लघुवित्तको आईपीओमा हालसम्मै उच्च आवेदन परेको छ । कम्पनीको आईपीओमा झन्डै २१ लाख आवेदकले आवेदन दिएका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।