Like us!
Follow us!

यी ११ कम्पनीको साधारण सभा हुँदै, कुनको एजेण्डा के ?

यी ११ कम्पनीको साधारण सभा हुँदै, कुनको एजेण्डा के ?

लगानी खबर, काठमाडौं - विभिन्न ११ वटा कम्पनीको साधारण सभा हुँदैछ । जसमध्ये एक कम्पनीको विशेष सभा रहेको छ भने बाँकि १० कम्पनीको वार्षिक साधारण सभा रहेको छ । यी कम्पनीहरु विभिन्न एजेण्डा पारित गर्न साधारण सभा आह्वान गरेका हुन् ।

कुनको एजेण्डा के ?

१.नागरिक लगानी कोष 

नागरिक लगानी कोषको वार्षिक साधारण सभा असार १८ गते, शुक्रबार हुँदैछ ।   कोषकाे जेठ २१ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कोषकाे २६औँ वार्षिक साधारण सभा असार १८ गते, शुक्रबार, काेषकाे केन्द्रिय कार्यालय, नयाँ बानेश्वर, काठमाडाैँमा अपरान्ह २ बजेदेखि सुरू हुनेछ । 

कोषले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट काेषका सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीकाे ९ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ८.८९४७ प्रतिशत नगद गरि कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, काेषले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि असार ८ बुकक्लोज गरेको छ । त्यसैले, असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । 

२. नेपाल एग्रो लघुवित्त

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा असार २१ गते सोमबार हुँदैछ । कम्पनीको जेठ ३० गते बसेको संचालक समितिको बैठकले  गरेको निर्णयानुसार उक्त सभा असार २१ गते सिटिस्क्वेयर प्रालि न्यूरोड पोखरामा बिहान ९ बजे नै सुरु हुनेछ । 

सभाले, आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १४% बोनस र कर प्रयोजनको लागि ०.७३% नगद लाभांश दिने प्रस्ताव पारीत प्रस्ताव गर्नेछ । त्यसैगरी, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गर्ने प्राप्तीका सम्वन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने प्रतिवेदन उपर
छलफल गरी पारीत गरिनेछ ।

प्राप्तिपश्चात सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको नेपाल एग्रो लघुवित्तको एक सय कित्ता सयर बराबर इन्फिनिटी लघुवित्तको ९८ कित्ता सेयर अर्थात् १:०.९८ सेयर स्वाप रेसियोमा प्राप्ति प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिनेछ । प्राप्तिपछि जारी पुँजी, चुक्ता पुँजी र सोही अनुसार सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ । प्राप्तिपछि इन्फिनिटीको नामबाट कारोबार हुनेछ । 

यसका साथै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व.२०७६/०७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्तसम्मको वासलात, आ.व. २०७६/०७७ को नाफा नोक्सान हिसाव, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्वन्धी विवरण र सम्वन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गरिनुका साथै  आ.व. २०७७/७८ को लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।
संस्थाले वार्षिक साधारणसभा प्रयोजनको लागि असार ८ गते देखी  बुकक्लोज  गरेको छ । हाल यस नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई इन्फिनीटी लघुवित्त वित्तीय संस्थाले प्राप्ती गर्ने प्रकृयामा रहेको हुँदा सेयर कारोबार रोक्का रहेको छ ।

३. जनरल इन्स्योरेन्स कम्पनी

जनरल इन्स्योरेन्स कम्पनीको स्थगित साधारण सभा असार २१ गते हुँदैछ । कम्पनीको यसअघि बोलाएको तेस्रो वार्षिक साधारण सभा कोरोना महामारीका कारण स्थगित गरिएको थियो । 

कम्पनीले स्थगित गरिएको सभा असार २१ गते सोमबार केन्द्रीय कार्यालय, हात्तिसार काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । यसअघि कम्पनीको तेस्रो वार्षिक साधारण सभा बैशाख २६ गते बोलाएको थियो ।

संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदनसहित वासलात नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरुमाथि छलफल गरी पारित गर्नुका साथै, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका एजेण्डा पारित गर्नेछ ।

त्यसैगरी, सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ सञ्चालकको निर्वाचन गर्ने भएको छ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले बैशाख १० गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो । यस अनुसार बैशाख ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम स्रयरधनीहरुले इन्स्योरेन्सको सभामा भाग लिन पाउनेछन् । 

४. इन्फिनिटी लघुवित्त 

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २१ गते विशेष साधारण सभा आह्वान गरेको छ । सभा संस्थाको केन्द्रीय कार्यालय, कालिगण्डकी चोक, गैंडाकोट नवलपुरमा बिहान ९ बजे सुरु हुने संस्थाले जनाएको छ । 

सभामा इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धि विशेष प्रस्ताव पारित गरिनेछ । सभाले, प्राप्ती पश्चात सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको नेपाल एग्रो लघुवित्तको एक सय कित्ता शेयर बराबर इन्फिनिटी लघुवित्तको ९८ कित्ता शेयर अर्थात् १:०.९८ शेयर स्वाप रेसियोमा प्राप्ति प्रक्रिया सम्पन्न गर्ने एजेण्डा रहेको छ ।

सभामा प्राप्तिपछि जारी पुँजी, चुक्ता पुँजी र सोही अनुसार शेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत रहेको छ ।
संस्थाले साधारण सभा प्रयोजनका लागि असार ८ गते बुक क्लोज गरेको छ । त्यसैले असार ७ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

५. सानिमा जनरल इस्योरेन्स 

सानिमा जनरल इन्स्योरेन्सको स्थगित तेस्रो साधारण सभा असार २३ गते हुँदैछ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार कोरोना महामारीका कारण स्थगित सभा अब असार २३ गते कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा बिहान १०:३० बजे भर्चुअल माध्यमबाट शुरु हुने भएको छ । 

यसअघि कम्पनीले जेठ ११ गते काठमाडौंको आम्रपाली ब्यांक्वेटमा साधारण सभाको मिति तय गरेको थियो । तर कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण जारी निषेधाज्ञाका कारण सभा स्थगित भएको थियो ।

सभामा आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष ७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने र सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ  । 

साधारणसभा प्रयोजनको लागि कम्पनीले वैशाख २९ देखि जेठ ११ गतेसम्म बुक क्लोज गरेको छ । वैशाख २८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभा सभामा सहभागि हुन पाउनेछन् ।

६. यूनियन हाइड्रोपावर 

युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले संयुक्त वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे जेठ २३ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे १३औँ र १४औँ वार्षिक साधारण सभा असार २५ गतेको लागि बोलाइएको छ । 

कम्पनीकाे चाैधाैँ वार्षिक साधारण सभाबाट सञ्चालकहरूकाे निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गर्ने प्रस्ताव रहेकाे छ । कम्पनीले साधारण सभा प्रयाेजनका लागि असार १५ गतेदेखि बुकक्लोज गरेको छ । त्यसैले, असार १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

७. कर्पोरेट डेभलपमेन्ट बैंक

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको तेर्हौं वार्षिक साधारण सभा असार २५ गते हुँदैछ । बैंकको उक्त सभा असार २५ गते, शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालय बैंककाे प्रधान कार्यालय, वीरगञ्ज, पर्सामा हुने भएको छ। बैंकको असार १ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले उक्त निर्णय गरेको हो। 

सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने गरिनेछ । त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थासंग गाभ्ने गाभिने निर्णय गर्ने तथा त्यस सम्बन्धि सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने, कार्य क्षेत्र संशोधन गर्ने, र प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, नियामक निकायबाट संशोधनको लागि थप निर्देशन आएमा सोही अनुसार गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने सभाकाे विशेष प्रस्ताव गरेको छ ।

८. राधी विद्युत कम्पनी

राधी विद्युत कम्पनीको साधारण सभा असार २९ गते मंगलबार हुँदैछ । कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय, त्रिपुरेश्वर काठमाण्डौंमा सभा बोलाएको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ३६.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा चुक्ता पूँजीको ३६.५ प्रतिशत बोनस शेयर जारी पश्चात कायम हुने पूँजीको १४७.५२ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश हुँदैछ ।

कम्पनीको जेठ १६ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले ३६.५० प्रतिशत बोनस शेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पूँजी को १४७.५२ प्रतिशतले हुन आउने ९५ लाख ३५ हजार ७६० कित्ता शेयर प्रतिशेयर एक सय रूपैयाँ अंकित दरमा हकप्रद जारी गर्ने निर्णय गरेको थियो ।

बोनस पश्चात कम्पनीको चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ पुग्नेछ भने हकप्रद सेयरपछि १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६।७७ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७।७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित हुनेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार १५ गते बुकक्लोज गरेको छ । त्यसैले, बुकक्लोजभन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र सभामा उपस्थित जनाउन र प्रस्तावित लाभांश पाउनेछन् ।

९. सगरमाथा इन्स्योरेन्स 

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारणसभा असार ३० गते हुँदैछ । कम्पनीको असार ८ गते मंगलबार बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको २४औं सभा असार ३० गते कम्पनीको प्रधान कार्यालय, नक्साल, काठमाडौंमा बिहान भिडियो कन्फरेन्स माध्यमबाट ११ बजे सुरु हुनेछ ।

सभाले संचालक समितिबाट प्रस्ताव भए बमोजिम कम्पनीको हालको चुक्ता पूँजीको ११ प्रतिशतसेयर बोनस सेयर  वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित वासलात नाफा-नोक्सान हिसाब नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गर्नुका साथै, लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।

त्यस्तै, साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १७ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले असार १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

१०. आँधिखोला लघुवित्त 

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको चौंथो वार्षिक साधारणसभा असार ३१ गते हुँदैछ ।
कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले  गरेको निर्णयानुसार उक्त सभा असार ३१ गते होटल गाँउबेशीको सभाहल, वालिङ, स्याङ्जामा बिहान साढे ११ बजेबाट सुरु 

सभाले लघुवित्तले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने गाभिने तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नुका साथै, लेखापरीक्षक नियुक्त गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पनि सो सभाले पारित गर्नेछ।

सभाको अन्य प्रस्तावमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक निर्धारण गर्नेछ । 

संस्थाले साधारण सभा प्रयोजनका लागि असार १५ गतेदेखि बुक क्लोज गरेको छ । त्यसैले असार १४ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् । धौलागिरी लघुवित्तसँगको मर्जर प्रयोजनार्थ २०७६ पुस ३ गतेदेखि लघुवित्तको दोस्रोबजार कारोबार रोक्का छ । 

११. नेको इन्स्योरेन्स कम्पनी

नेको इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा असार ३१ गते हुँदैछ । कम्पनीको संचालक समितिको असार १० गते बसेको बैठकले गरेको निर्णयानुसार कम्पनीको २५ औं वार्षिक साधारण सभा असार ३१ गते कम्पनीको भवन ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांस गरी कूल १६.३२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि असार १८ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १७ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।