Like us!
Follow us!

माथिल्लो तामाकोशी जलविद्युत आयोजना : सोमवारदेखि ७६ मेगावाट विद्युत उत्पादन शुरू हुने

माथिल्लो तामाकोशी जलविद्युत आयोजना : सोमवारदेखि ७६ मेगावाट विद्युत उत्पादन शुरू हुने

लगानी खबर, काठमाडौं - लामो समयको अन्तरालपछि आगामी सोमवारदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट उत्पादन शुरू हुने भएको छ । सोमवार अर्थात् असार २१ गतेदेखि ७६ मेगावाट विद्युत् परीक्षणको रूपमा उत्पादन हुने भएको हो ।

स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन उक्त आयोजनाको कुल जडितक्षमता ४५६ मेगावाट हो । त्यसमा ७६/७६ मेगावाटका ६ युनिट रहेका छन् । त्यसमध्ये आयोजनाको पहिलो युनिटबाट परीक्षणका रूपमा विद्युत् उत्पादन गर्न लागिएको हो । त्यसका लागि अन्तिम चरणका काम धमाधम भइरहेको छ ।

सोही युनिटबाट असार २१ गतेबाट परीक्षणका रूपमा विद्युत् उत्पादन शुरू गर्ने तालिका तय गरिएको छ । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटहरूबाट क्रमशः विद्युत् उत्पादन हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोशी जलविद्युत्् आयोजना लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्यले बताए ।

आइतवार र सोमवार शाक्य तथा प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलियासहितको टोलीले आयोजना निर्माणस्थलको अनुगमन गरेका थिए । त्यसपछि आगामी सोमवारदेखि पहिलो युनिटबाट विद्युत् उत्पादनको तालिका तय गरिएको हो ।

टोलीले विद्युत्गृहमा भइरहेको उपकरणहरूको परीक्षण, बाँधस्थल, रामेछापको खिम्तीमा निर्माणाधीन २२० को न्यू खिम्ती सबस्टेशनलगायतको अनुगमन गरी निर्माणमा संलग्न अधिकारीहरूसँग छलफल गरेको थियो ।

‘विभिन्न समस्या झेल्दै आएको आयोजनालाई निरन्तरको प्रयासबाट विद्युत् उत्पादन गर्ने अवस्थामा पुर्‍याएका छौं, सम्पूर्ण परीक्षणहरू अन्तिम चरणमा पुगेको छ, अब कुनै प्राविधिक समस्या नआएमा सोमवार बिहान स्वीच अन गरी पहिलो युनिबाट विद्युत् उत्पादन शुरू गर्छौं,’ उनले भने, ‘माथिल्लो र तल्लो ठाटो सुरुङको बीच भागमा राखिने पेनस्टक पाइपको डिजाइन परिमार्जन र निर्माण सम्पन्न भएर भासिएको प्रसारण लाइनको टावर निर्माणका विषयमा कम्पनीबाट तत्काल निर्णय नलिइएको भए आयोजना अभैm पर धकिलिने अवस्था थियो, समयमै निर्णय गरी काम सम्पन्न गरेका छौं ।’

जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेकलगायत सिभिल संरचनाहरू र त्यहाँ जडान गरिएका गेट, स्टपलगजस्ता हाइड्रो मेकानिकल उपकरणहरूको सबै प्रकारका परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । विद्युत्गृहमा पहिलो युनिटको परीक्षण भइरहेको छ । आयोजनाबाट उत्पादित विद्युत् गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ । यसका लागि प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेको छ भने लाइनको परीक्षण भइरहेको छ ।

७६ किलोमिटर खिम्ती–ढल्केवर प्रसारण लाइनको पनि परीक्षण भइरहेको छ । माथिल्लो तामाकोशीको विद्युत्गृह दोलखाको गोंगरबाट रामेछापको खिम्तीसम्मको ४७ किलोमिटर २२० केभी प्रसारण लाइनको परीक्षण गरिनेछ । खिम्तीमा निर्माणाधीन २२० केभीको न्यू खिम्ती सबस्टेशनको परीक्षण भइरहेको छ । अभियान दैनिकमा खबर छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।