लगानी खबर, काठमाडौं - काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आज (मंगलबार)देखि थप खुकुलो पारिएको छ । हिजो (सोमबार) बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले काठमाडौं उपत्यकामा आजदेखि २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय गरेका हुन् ।
अब मंगलबारदेखि जोर बिजोर प्रणालीमा सार्वजनिक सवारीहरू चल्ने भएका छन् । सवारी साधनहरुले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । जस अनुसार अनिवार्य सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ ।
चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने, सहचालकले पञ्जा लगाउनु पर्ने र अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्ने मापदण्ड तोकिएको छ । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र संचालन गर्न स्वीकृति दिइएको छ ।
त्यसैगरी, काठमाडौं उपत्यकामा किराना तथा खाद्यान्न पसलहरु पनि दिनभर संचालन हुन पाउने भएका छन् । यस्तै, डिपार्टमेन्टल स्टोर, कपडा, जुत्ता, फेन्सी, सुन पसल अटोमोबाइल शोरुम तथा निर्माणजन्य सामग्री लगायतका पसल भने बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।
कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढ्दै गएपछि गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लगाइएको हो । संक्रमणदर क्रमशः घट्दै गएसँगै जनजीवनलाई सहज बनाउन निषेधाज्ञा खुकुलो पारिएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।