Like us!
Follow us!

नेकपा सचिवालय बैठक : अर्थमन्त्रीमा खतिवडाले नै निरन्तरता पाउँलान् त ?

नेकपा सचिवालय बैठक : अर्थमन्त्रीमा खतिवडाले नै  निरन्तरता पाउँलान् त ?

लगानीखबर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (बिहिबार) बस्दैछ । बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्नेछ । बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफलपछि बिहान ११ बजेको लागि तय गरिएको बैठक ४ घण्टा पछि धकेलिएको हो ।  

गृहकार्य नपुगेको भन्दै बैठक सारिएको नेकपा स्रोतले जनाएको छ । यो बैठकले अर्थमन्त्री डा. युवराज खतिवडाको भविष्य तय गर्ने छ। आजको बैठकले खतिवडा अर्थमन्त्रीमा दोहोरिन्छन् या दोहोरिदैनन् त्यो समेत तय गर्नेछ ।

आजको बैठकमा नेकपा विवाद समाधान गर्न गठित कार्यदलले दिएको प्रतिवेदनबारे केन्द्रित रहने बताइएको छ । बैठकले राष्ट्रिय सभाको रिक्त एक जना मनोनीत सदस्यमा कसलाई लैजाने भन्ने बारे पनि हुनेछ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार साँझ भएको दुई घण्टा लामो भेटमा राष्ट्रिय सभामा कसलाई लाने भन्नेमा कुरा नमिलेपछि यो विषयले प्राथमिकता पाउने भएको हो ।

प्रधानमन्त्री ओलीले अर्थमन्त्री युवराज खतिवडालाई लैजाने अडानमा छन् भने अन्य सचिवालयका नेताहरु भने उपाध्यक्ष बामदेव गौतमलाई लैजाने अडानमा छन् ।

ओली भने अर्थमन्त्रीमा खतिवडालाई निरन्तरता दिन चाहन्छन् । अर्थमन्त्रीलाई निरन्तरता दिन भदौ २० गतेभित्र राष्ट्रिय सभा सदस्य बनाइसक्नुपर्छ । त्यसका लागि नेकपा नेतृत्वसँग बिहीबार र शुक्रबार दुई दिन मात्रै समय छ । बिहीबार बस्ने सचिवालय बैठकमा निर्णय गरेर मन्त्रिपरिषद्बाट मनोनयनका लागि उम्मेदवार सिफारिस गर्ने सहमति अध्यक्षद्वयबीच भएको छ । तर बुधबार साँझको भेटमा पनि प्रधानमन्त्री ओलीले खतिवडाको पक्षमा अडान राखेको र दाहालले पार्टी सचिवालयको निर्णयअनुसार गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउनुपर्ने भनाइ दोहोर्‍याएका थिए ।

राष्ट्रिय सभा सदस्य कसलाई बनाउने भन्ने विषयमा नै मतभेद भएपछि बिहीबार सचिवालय बैठक बोलाइएको हो । बैठक यही विषयमा केन्द्रित रहन सक्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। 

गत फागुन १४ गतेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। उक्त निर्णय प्रधानमन्त्री ओलीले नमान्ने अडान राखेपछि निर्णय कार्यान्वयन हुन सकेको थिएन। वैशाख २० गते फेरि सचिवालयले नै गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

यही आधारमा प्रधानमन्त्री ओलीले गौतमलाई पछिल्लोपटक डोल्पाबाट चुनाव उठ्न आग्रह गरेका थिए । गौतमले भने अहिले चुनाव सम्भव नभएकाले राष्ट्रिय सभा सदस्य बनाउने पुरानो निर्णय कार्यान्वयन गराउन माग गरेका थिए। बुधबारको कुराकानीमा पनि गौतमले यही अडान दोहोर्‍याएको उनका निकटस्थहरूको भनाइ छ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।