Like us!
Follow us!

सूर्यविनायकमा एक अर्ब ५७ करोड ६३ लाखको बजेट, विकास क्षेत्रलाई जाेड

सूर्यविनायकमा एक अर्ब ५७ करोड ६३ लाखको बजेट, विकास क्षेत्रलाई जाेड

लगानी खबर, काठमाडौं - सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि कूल रु एक अर्ब ५७ करोड ६३ लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको नवौँ नगरसभामा उपप्रमुख जुना बस्नेतले आर्थिक वर्ष २०७८/७९ को चालु तथा पूजीँगततर्फको बजेट सार्वजनिक गरेकी हुन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो बजेट रु नौ करोडले बढी हो । नगरपालिकाले चालु आव २०७७/७८ मा रु एक अर्ब ४८ करोडको बजेट ल्याएको थियो ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कूल बजेटमध्ये चालुतर्फ शाखागत कार्यक्रम रु १८ करोड ८६ लाख ७६ हजार, सामाजिक सुरक्षा रु १४ करोड, वडागत चालु कार्यक्रम रु दुई करोड १५ लाख र नगरपालिका चालु १६ करोड २० लाख ८२ हजार गरी कूल रु ५१ करोड २२ लाख ५८ हजार बजेट विनियोजन गरेको छ ।

त्यस्तै पूँजीगत कार्यक्रमतर्फ रु ७३ करोड ९८ लाख ४७ हजार र ससर्त कार्यक्रमतर्फ रु ३२ करोड ४१ लाख ९५ हजार विनियोजन गरिएको उपप्रमुख बस्नेतले जानकारी दिइन् । आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये नगरपालिकाले आन्तरिक राजश्व परिचालनबाट रु १८ करोड १८ लाख ९५ हजार, घरजग्गा रजिष्ट्रेशनबाट २४ करोड, चालु आवकोे राजश्व बचतबाट रु २२ करोड ५६ लाख ८२ हजार, सङ्घ र प्रदेशबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु २३ करोड ४० लाख ८० हजार प्राप्त हुने अनुमान गरेको छ ।

सङ्घ तथा प्रदेशको राजश्व बाँडफाँट रु १३ करोड चार लाख ४८ हजार, ससर्त अनुदानबाट रु ३२ करोड ४१ लाख ९५ हजार, जिसस समपूरक कोषबाट रु दुई करोड, सामाजिक सुरक्षा कार्यक्रमबाट रु १४ करोड प्रदेश समपूरक योजनाबाट रु तीन करोड र सडक बोर्ड तथा ससर्तका विविध कार्यक्रमबाट रु तीन-तीन करोड प्राप्त हुने अनुमान नगरपालिकाले गरेको छ । नगरस्तरीय ठूला पूर्वाधार निर्माण आयोजनाका लागि रु ११ करोड ५० लाख, नगरपालिकाको प्रशासकीय भवन र मातहतका वडा कार्यालय भवन निर्माणका लागि रु छ करोड विनियोजन गरिएको छ ।

वडागत योजना कार्यान्वयन गर्न प्रत्येक वडाका लागि रु दुई करोड ५७ लाखका दरले कूल रु २५ करोड ५७ लाख, क्रमागत योजना सम्पन्न गर्न रु नौ करोड ८० लाख तथा अस्पताल पूर्वाधार निर्माण गर्न रु एक करोड बजेट विनियोजन गरेको छ ।

त्यसैगरी सङ्घ तथा प्रदेश र अन्य विकास साझेदारसँग साझेदारी गर्न समपूरक कोषमा रु आठ करोड विनियोजन गरिएको छ । पूर्वाधार विकासको आयोजनाहरुमा नगद लागत साझेदारीअन्तर्गत ६०–४० को आयोजनाहरुका लागि रु छ करोड बजेट विनियोजन गरेको र नगरवासीले स्वास्थ्य बीमा गर्दा प्रतिपरिवार रु एक हजार अनुदान दिने व्यवस्था गरेको उपप्रमुख बस्नेतले जानकारी दिइन् ।

नगरप्रमुख वासुदेव थापाले निर्वाचनको घोषणा पत्रमा उल्लेख भएका सबै प्रतिवद्धतालाई पूरा गरेको र जनअपेक्षा धेरै बढेकाले जनताको माग तथा आवश्यकताको पहिचान गर्दै यस वर्षको बजेट बनाएको बताए । नगरपालिकाले प्रत्येक वडामा कम्युनिटी हल, इ–लाइब्रेरी, खेलमैदान, फुटसल, पौडी पोखरी, जिमहल निर्माण गरिने उनको भनाइ छ ।

नगरपालिको अहिलेसम्म ६७ किमी पक्की र ११ किमी कच्ची सडक निर्माण, १२ पुल निर्माण, १० खानेपानी आयोजना निर्माण, एक हजार ५०० सडक बत्ती जडान, ११ सिँचाइ कुलो निर्माण, पाँच पर्यटकीयस्थल र त्यहाँसम्म पुग्ने पहुँचमार्ग निर्माण, १७ हजार ५१७ घरनक्सा पास, ५३ कानून निर्माण, न्यायिक समितिबाट १३३ विवाद निरुपण, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २०० जनालाई १०० दिन बराबरको रोजगारी, सात हजार ९०१ जनालाई राहत वितरण, १० सामुदायिक भवन र ३४ विद्यालय निर्माण, २५ मठमन्दिर निर्माण तथा जीर्णोद्धार, नौवटा स्वास्थ्य केन्द्रको स्तरोन्नति, १६ हजार ८३७ निगरवासीको निःशुल्क पिसिआर परीक्षण, सरकारले तोकेबमोजिमको उमेर समूहका छ हजार १०० जनालाई कोभिसिल्ड तथा २१ हजारलाई भेरोसिल खोप लगाउने कार्य सम्पन्न भएको नगरप्रमुख थापाले बताए । (रासस)

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।