Like us!
Follow us!

हिमालयन रि इन्स्योरेन्स असार १७ बाट सञ्चालन आउने, ३ अर्बको आईपीओ ल्याउने

हिमालयन रि इन्स्योरेन्स असार १७ बाट सञ्चालन आउने, ३ अर्बको आईपीओ ल्याउने

लगानी खबर, काठमाडौं - गत जेठको तेस्रो साता कम्पनी स्थापनाका लागि सैद्धान्तिक स्वीकृति पाएको हिमालयन रि इन्स्योरेन्स कम्पनी असार १७ गते अर्थात् जुलाई १ तारीखबाट सञ्चालनमा ल्याउने तयारी गरिएको छ । हिमालयन रिले गत जेठ तेस्रो साता बीमा समितिबाट कम्पनी स्थापनाका लागि सैद्धान्तिक स्वीकृति पाएको थियो । आवश्यक प्रक्रिया पूरा गरेर कम्पनीलाई असार महीनाभित्र नै सञ्चालन गर्ने गरी संस्थापकहरू तयारीमा लागेका हुन् । 

सैद्धान्तिक स्वीकृति पाएपछि हिमालयन रि कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भइसकेको छ । साथै, संस्थागत लगानीतर्फको सेयर लगानी (रू. ७ अर्ब) पनि जुटिसकेको छ । 

बालुवाटारमा कम्पनीको कार्यालय स्थापना भइसकेको छ । कम्पनीको अध्यक्षमा शेखर गोल्छालाई नियुक्त गरिसकिएको छ । कम्पनी सञ्चालनको अनुमतिका लागि बीमा समितिमा आवेदन दिइसकेको संस्थापक लगानीकर्तामध्येका एक सदस्य व्यवसायी पशुपति मुरारकाले बताए । 

‘अन्तिम स्वीकृतिका लागि बीमा समितिमा आवेदन दिइसकेका छौं । कम्पनीका तर्फबाट गर्नुपर्ने प्रक्रिया पनि लगभग सबै सकिएको छ,’ उनले भने, ‘समग्रमा हामी जुलाई १ तारीखदेखि कम्पनीलाई सञ्चालनमा ल्याउने तयारी गरेका छौं ।’ अबको १ हप्ताभित्र नै बीमा समितिबाट कम्पनी सञ्चालनको अन्तिम स्वीकृति पाइने उनको विश्वास छ । 

बीमा समितिका कार्यकारी निर्देशक कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि हिमालयन रिलाई अन्तिम स्वीकृति दिने तयारी भएको बताए । ‘सैद्धान्तिक स्वीकृत दिइसके पछि अन्तिम स्वीकृति दिन समस्या हँुदैन । कम्पनीबाट पूँजी जुटेको जानकारी पनि प्राप्त भइसकेको छ,’ उनले भने, ‘अब कम्पनीलाई छिट्टै अन्तिम स्वीकृति दिनेछौं ।’ कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा विदेशी व्यक्ति ल्याउने गरी छलफल गरिएको छ ।

तर, निर्णय भने नभएको एक लगानीकर्ताले बताए । ‘पुनर्बीमा व्यवसाय गर्न हामी विदेशी बजारमा जानैपर्ने हुन्छ । त्यसैले हामीले विदेशबाट नै सीईओ नियुक्त गर्ने गरी छलफल गरेका छौं,’ उनले भने, ‘तर, कोरोनाका कारण त्यसमा केही चुनौती हुन सक्छ । यस विषयमा छिट्टै निर्णय हुनेछ ।’

निजीक्षेत्रको स्वामित्वको यस कम्पनीको चुक्ता पूँजी रू. १० अर्ब रहेको छ । त्यसमा संस्थागततर्फको लगानी रू. ७ अर्ब रहेको छ । बाँकी रहेको ३ अर्ब भने सर्वसाधारण सेयर (आईपीओ) निष्कासन गरेर जुटाइने मुरारकाले बताए  । अभियान दैनिकमा खबर छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।