Like us!
Follow us!

सेयर बजारमा पहिरो, दर्जन बढी कम्पनीको मूल्यमा ९% भन्दा धेरै गिरावट

सेयर बजारमा पहिरो, दर्जन बढी कम्पनीको मूल्यमा ९% भन्दा धेरै गिरावट

लगानी खबर, काठमाडौं - नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) को मंगलबार विज्ञप्तिको प्रभाव सेयर बजारमा परेको छ । आज (बुधबार) सेयर बजारमा पहिरो गएको छ  । आज सेयर बजारमा भारी अंकको गिरावट  हो  ।

मंगलबार बोर्डले धितोपत्रको कारोबार गर्दा धितोपत्रमा निहीत जोखिम रहेका ५१ कम्पनीहरुको नामावाली नै सार्वजनिक गरेको थियो ।  बोर्डले ५१ लघुवित्त, जलविद्युत्, वित्त कम्पनी र बीमा कम्पनीहरुको नामै तोकेर ती कम्पनीहरुमा लगानी सुरक्षित नरहेको दावी गरेको थियो ।

विगतको एक वर्ष अवधिमा सूचीकृत संगठित संस्थाहरूको मूल्य वृद्धि ३०० प्रतिशत र सो भन्दा बढीले वृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋृणात्मक भएका, प्रतिशेयर अंकित मूल्यभन्दा प्रतिशेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमता समेतका आधारमा हाल जोखिम युक्त देखिएका ५१ वटा सूचीकृत संगठित संस्थाहरू छनोट गरी बोर्डबाट प्रारम्भिक अध्ययन गरिएको बोर्डले जनाएको थियाे । सो को प्रभाव आज सेयर बजारमा देखिएको छ । 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ५२.३९ अंकले घटेर २९६९.७२ बिन्दुमा पुगेको छ । आज नेप्से १.७३ प्रतिशतले घटेको हो ।  यता, सेन्सेटिभ परिसूचक पनि ८.५६ अंकले घटेर ५४१.७१ बिन्दुमा पुगेको छ  ।

कूल २१९ कम्पनीको २ करोड ८२ लाख ८९ हजार १२८ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३१८ रुपैयाँको कारोबार भएको छ ।  

आज कूल १३ वटा उपसमूहमध्ये लघुवित्त बाहेक अन्य सबै उपसमूहको सेयर घटेको छ । बुधबार फाइनान्स, होटल एण्ड पर्यटन, हाइड्रोपावर, डेभलपमेन्ट बैंक लगायत समूहको सेयरमूल्यमा उच्च गिरावट आएको छ । आज १७ वटा कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ  ।

बजार घट्दा गुराँस फाइनान्स, जोशी हाइड्रोपावर, नेपाल फाइनान्स, नेशनल हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, आँखु खोला जलविद्युत, बेष्ट फाइनान्स, पन्चकन्या माई हाइड्रोपावर, घलेम्दी हाइड्रो, पोखरा फाइनान्स लगायतका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्  ।

बजार राताम्य बन्दा आज सीईडीबी हाइड्रोपावर, युनियन हाइड्रोपावर, फर्स्ट माइक्रो फाइनान्स, आरएसडिसी लघुवित्त, सामुदायिक लघुवित्त, कालिका लघुवित्त, ग्रामिण विकास लघुवित्त, आशा लघुवित्त, एनआईसीएशिया लघुवित्त र स्वरोजगार लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन्  ।

बुधबार नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, हिमालयन डिष्टीलरी, नेशनल हाइड्राेपावर, अरूण भ्याली हाइड्राेपावर, अपि पावर, रसुवागढी हाइड्राेपावर, लुम्बिनी विकास बैंक लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, अरूण काबेली पावर लिमिटेड र कुमारी बैंक लिमिटेडले सर्वाधिक काराेबार गरेका छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।