Like us!
Follow us!

सात प्रदेशको कुल बजेट २ खर्ब ४७ अर्ब, कुनको कति ?

सात प्रदेशको कुल बजेट २ खर्ब ४७ अर्ब, कुनको कति ?

लगानी खबर, काठमाडौं - बाग्मती प्रदेशबाहेक अन्य ६ वटा प्रदेश सरकारले चालू आर्थिक वर्षको भन्दा कम हुनेगरी बजेट ल्याएको छ । असार १ मा प्रदेश सरकारले आगामी आवका लागि बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधानअनुरूप सातवटै प्रदेशले मंगलबार बजेट सार्वजनिक गरेको हो ।

सातवटै प्रदेश सरकारले ल्याएको बजेटको योगफल २ खर्ब ४७ अर्ब १३ करोड रहेको छ । चालू आर्थिक वर्षमा सात प्रदेशमा २ खर्ब ६० अर्ब थियो । योभन्दा अघि आर्थिक वर्ष २०७६-७७ मा २ खर्ब ५९ अर्ब ६० करोडको बजेट आएको थियो ।

प्रदेशहरूले आफ्नो मुख्य स्रोत संघ सरकारबाट प्राप्त हुने सर्सत, समपूरक विशेष र वित्तीय समानीकरणलगायतको वित्त हस्तान्तरण अनुदान र राजस्व बाँडफाँटबाट प्राप्त हुने रकमलाई बनाएका छन् ।

आगामी वर्षका लागि बाग्मतीले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ भने गण्डकी सरकारले सबैभन्दा सानो आकारको बजेट ल्याएको छ । बाग्मतीले चालू आवभन्दा ६ अर्ब ३० करोड बढीको बजेट ल्याएको छ भने गण्डकीले चालूको भन्दा ४ अर्ब घटाउँदै सबैभन्दा कम अर्थात् ३० अर्ब ३ करोडको बजेट ल्याएको छ । प्रदेशहरूले कोभिड–१९ को नियन्त्रण, रोकथाम र प्रभाव न्यूनीकरणमा खर्चने भएका छन् । कृषि, रोजगारी र सीप प्रवद्र्धनमा पनि जोड दिइएको छ ।

प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि३२ अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेको छ भने प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८-७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको छ । बाग्मती प्रदेश सरकारले कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७७-७८ को भन्दा कम ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । 

त्यसैगरी, लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट सार्वजनिक गर्दा कर्णाली प्रदेशले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको छ भने सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि ३० अर्ब ३३ करोडको बजेट ल्याएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।