Like us!
Follow us!

आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ पारित

आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ पारित

लगानी खबर, काठमाडौं - आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे तेस्रो वार्षिक साधारण सभा आज (जेठ ३१ गते, सोमबार) कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालयमा भिडियो कन्फरेन्स मार्फत सम्पन्न भएकाे छ ।

सभाले धिताेपत्र दर्ता गरी सर्वसाधारणलाई प्रारम्भिक सेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्तावलाई पारित गरेकाे छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्दैछ । आईपीओ निष्कासनपश्चात् कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा सम्पन्न भएकाे सभाले आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र त्यस सम्बन्धीत अनुसूची तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गरी पारित गरेको छ ।

त्यस्तै, सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने कार्य पनि सम्पन्न गरेकाे छ ।

 सभामा बोल्दै सभाका अध्यक्ष डा.अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यून भन्दा न्यून आयस्रोत भएका समूहमा समेत पुर्याउन कटिबद्ध रहेको प्रतिवद्धता जाहेर गरेका छन् । 

उक्त सभा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डलाई पालन गरी भिडियो कन्फरेन्स मार्फत  गरिएको थियो । सभामा सञ्चालक समिति तथा व्यवस्थापन समितिका सदस्य तथा विभागिय प्रमुखहरु प्रत्यक्ष उपस्थित रहेको थिए भने शेयधनीहरुले भिडियो कन्फरेन्स मार्फत उपस्थिति जनाएका थिए ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।