Like us!
Follow us!

संस्थागत बीमा अभिकर्ता निर्देशिका खारेज गर्न अभिकर्ताको माग

संस्थागत बीमा अभिकर्ता निर्देशिका खारेज गर्न अभिकर्ताको माग

लगानी खबर, काठमाडौं - पेशागत बीमा अभिकर्ता संघ नेपालले बीमा समितिले गत हप्ता जारी गरेको संस्थागत बीमा अभिकर्ता निर्देशिका–२०७८ को विरोध गरेको छ । समितिले जारी गरेको उक्त निर्देशिका व्यक्तिगत बीमा अभिकर्ताको व्यावसायकि हकहितविरुद्ध भएको संघको ठहर छ ।

संघले विज्ञप्ति नै जारी गरेर उक्त निर्देशिकाप्रति खेद प्रकट गरेको हो । लाखौं अभिकर्ताको रोजी–रोटी खोसेर सीमित माफियाको हितका लागि उक्त निर्देशिका ल्याइएको भन्दै संघले त्यसलाई अस्वीकार गर्ने घोषणा गरेको छ । साथै, यसलाई तत्काल खारेज गर्न माग गरिएको छ ।

बीमा समितिले गत हप्ता उक्त निर्देशिका जारी गर्दै सबै प्रकारका संगठित संस्था (कम्पनी)लाई संस्थागत बीमा अभिकर्ताको इजाजतपत्र दिने व्यवस्था गरेको थियो ।

त्यसअनुसार कुनै पनि संगठित संस्थाले आफ्नो विधानमा बीमा अभिकर्ता भएर काम गर्न पाउने उल्लेख गरेमा यस्तो इजाजत पाउनेछन् । यसरी समितिले संगठित संस्थालाई अभिकर्ता बनाउँदा व्यक्तिगत अभिकर्ताको रोजीरोटी नै धरापमा पर्ने संघले बताएको छ ।

पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारीले समितिको उक्त निर्देशिका श्रमजीवी अभिकर्ताको व्यावसायिक हकविरुद्ध भएको बताए । समितिले उक्त निर्देशिका तत्काल फिर्ता लिनुपर्ने उनको भनाइ छ ।

‘अहिले समितिले ६ लाख व्यक्तिगत बीमा अभिकतालाई इजाजतपत्र दिएको छ । उनीहरूले नै राम्रोसँग व्यवसाय पाउन सकेका छैनन्,’ उनले भने, ‘यो अवस्थामा सबै किसिमका संस्थालाई बीमा अभिकर्ता बनाउने भनिएको छ, त्यसो गरियो भने बीमा अभिकर्ता पलायन हुने अवस्था आउँछ । त्यसैले, यसलाई तत्काल फिर्ता लिनुपर्छ ।’

साथै अभिकर्ताहरू यो पेशा छाडेर अन्त जाने अवस्था पनि नभएको उनले बताए । ‘हामी २०÷३० वर्षदेखि यही क्षेत्रमा कार्यरत छौं । अन्य कुनै काम जानेका छैनौं,’ उनले भने, ‘यो अवस्थामा हामी यो क्षेत्रबाट पलायन भएर कहाँ जाने ? यो निर्देशिका फिर्ता लिनुपर्छ, अन्यथा हाम्रो रोजीरोटीको ग्यारेन्टी गर्नुपर्छ ।’

बीमा समितिले कुनै एउटा स्टेक होल्डरको पक्षमा मात्र काम गर्न नहुने संघको भनाइ छ । समितिले सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । बीमा समितिका पछिल्ला निर्देशनहरूले बीमा अभिकर्ता नराम्ररी प्रभावित भएको बताइएको छ । आजको अभियान दैनिकमा समाचार छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।