Like us!
Follow us!

‘आफूले आफैंलाई विश्वास गर्न सक्नुपर्छ’

‘आफूले आफैंलाई विश्वास गर्न सक्नुपर्छ’

जीवनमा हामीले सबैको सार हामी आफैंले निकाल्नुपर्छ । एउटा महान मान्छे र तपाईलाई पनि सबै कुरा साधन श्रोत वस्तु बुद्धि विवेक आदि प्रकृतिले समान रुपमा दिएकै छन । यी उस्तै वस्तु श्रोत वा साधनहरुबाट नै अरुहरुले चाहिँ जीवनमा विशाल फड्को मारे । उनीहरुले जीवनमा केवल साहस मात्र निकाले ।

तपाई हामी कहाँ चुक्यौं भने हामीले उनीहरुले जस्तो अदम्य साहस निकाल्न सकेनौं या त लजायौं या त डरायौं । जीवनको ठुलो गल्ति नै यहि थियो । दाउ लगाउने साहस निकाल्नु हुन्छ कि हुँदैन यसैले सबै कुरा निर्धारण गर्छ । प्रकृतिले हामी सबैलाई एउटै र त्यहि नै पोषण  दिएको हो । खोलाको पानी अनावश्यक रुपमा बगि रहँदा केहि फाइदा हुँदैन, ऊ बगि मात्र रहन्छ ।

तर  सिस्टममा गएपछि त्यस पानीबाट सिंचाइ वा बिजुली निस्कन्छ । हामी सधैँ  हार र असफलताहरुसँग रमाउछौं । किनकी आफुले आफैंलाई म जित्न सक्छु भन्ने विश्वास छैन । हामी डराएर गल्ति गर्न बाध्य छौ । किनकी गल्तिबाटै प्रेरणा मिलेको छ भन्ने हामी विश्वास गर्दछौं । केही प्रेरणादायी मान्छेहरुले आफुले जीवनमा धेरै पटक हारेर अहिले मात्र सफलताको स्वाद चाख्दैछु भन्ने सुनेर आफैं हार स्वीकार गर्दैछौं । प्रयत्न सधैं जितको लागि हो । जित्ने क्रममा हार आए पनि नछोड्नलाई प्रेरित गरिएको हो ।

अवसरहरु जीवनमा सयौं ढाँचामा आइरहेका हुन्छन । जसले सहासका साथ प्रयत्न गर्छ उसैले भेट्छ सफलता र महानता । हामी भित्रैबाट निस्कने सार तत्व र निष्कर्ष नै देव बाणी हो । जसले तिमीलाई पछि पार्न खोज्छ, उ नै महान हो, किनकि उसले तिमीलाई खुल्ला चुनौती दिएको छ । हामी आफूलाई लगानी गर्न डराउँछौं, वा आफ्नो जीवनसँग यो पनि ठुलो र महान बन्न सक्छ भनेर विश्वास गर्न सक्दैनौं ।

हामी आफुलाई सधै कमजोर ठान्छौं र अरुले नै भाग्य बनाउने छन् भनेर आफूभन्दा कमजोर मान्छे वा शक्तिसँग शरण खोज्दछौं  । हामी मौकामा पनि आफ्नो साहास निकाल्न रोक्छौं  । साहस गर्न जति डराउँछौं हामी त्यति त्यति पछि पर्छौ ।  हामी डराउँछौं र सधै अरुको दास बन्छौ । प्रकृतिले अरु र तिमीमा केहि कमजोरी दिएका छैनन् । कुनै काममा जित्नुभन्दा पनि सहभागी हुन राम्रो हो । त्यो काममा सहभागी भएपछि नै त्यसलाई जित्न सकिने बाटो पत्ता लाग्नेछ । स-साना र अनावश्यक काममा समय दियौं भने मरेका दिन कात्रो किन्ने पैसा पनि अरुसँग चन्दा उठाएर किन्नु पर्ने हुन्छ तर साहसले बाँच्यौं भने मरेका दिन लाखौँ मलामीहरु आउनेछन् । नेपोलियन बोनापार्ट भन्छन् : "साहस गर, साहस नै सबैभन्दा ठुलो कुरा हो ।"

संसारमा सबैको पालो छ । मुनाहरु हाँगाहाँगामा तछाड मछाड गरेर उम्रिरहेका छन । पहेंला पातहरु तछाड मछाड गरेर झरिरहेका छन्। सबैको जिन्दगीमा धेरै पटक मौकाहरु आईरहेका हुन्छन् । पात झरेर सुकेको जस्तो लाग्ने रुखमा पनि पालुवा पलाएर नयाँ बेहुली बनि दिन्छ । जीवनले हरेकलाई मौका दिन्छ, प्रतिक्षा गर्न सक्नुपर्छ । ४००० मिटरको उचाइको पहराको बीचमा एउटा सिजनमा पदमचाल फूल फूल्छ । यति राम्रोसँग फूल्छ कि पहरा नै हेरौँ हेरौँ लाग्दो बनाउँदछ । जीवनमा सबैको मौका आउँछ, तर कसैले चिन्छन् र फाइदा उठाउँदछन् भने कसैले डराउँछन् र सफलता पाउनबाट टाढै बस्छन् वा असफलता पाउँदछन् ।

स्टिभ जब्सले एप्पल कम्पनीमा काम गर्न रोनाल्ड वाइनेलाई फकाए । रोनाल्ड वाइने एप्पलमा राम्ररी काम गर्न सक्ने कर्मचारी थिए । तर रोनाल्ड वाइनेले थोरै समयमा एप्पल कम्पनीमा काम गर्न मात्र छाडेनन्, ८०० डलरमा आफ्नो सारा सेयर बेचेर एप्पल छाडे । सन २०११ मा एप्पल संसारकै सबैभन्दा बढी नाफा कमाउने कम्पनी बन्यो जसको नाफा मात्र ५४ अर्ब डलर पुग्यो । स्टिभ जब्सले नयाँ नयाँ सिकाइहरु गर्दै लगे । एप्पलको ५४ अर्ब नाफा भएको बेला अनुसन्धानकर्ताहरुले रोनाल्ड वाइने हाल के गर्दै छन् भनेर खोजे । त्यस समयमा रोनाल्ड वाइने अमेरिकाको एउटा शहरमा सामाजिक सुरक्षा भत्ताको मासिक ४०० डलर खाएर अभाव र दुखका साथ जीवन गुजारी रहेका थिए ।  जिन्दगी कसैसँग पनि कहिल्यै पुर्वाग्राही हुँदैन । बाढी आएको बेला माछाले कमिला खान्छ र खोला सुकेको बेला कमिलाले माछा खान्छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।