लगानी खबर, काठमाडौं - सर्वोत्तम सिमेन्ट लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । 
कम्पनी सञ्चालक समितिको हिजो (जेठ २५ गते) बसेको बैठकले उक्त सभा असार १० गते काठमाडौंको तीनकुनेस्थित न्यौपाने टावरको तेस्रो तलाको हलमा विहान ११ बजे  सुरु हुनेछ । 
सभाले गत आर्थिक २०७७/७८ सम्मको मुनाफाबाट २०.१२४ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । जसमा १९.११८ प्रतिशत बोनस सेयर र  १.००६ प्रतिशत  नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ । 
सोही सभाले कम्पनीको हालको जारी तथा चुक्तापुँजी वृद्धि गरी संस्थापक र सर्वसाधारण सेयरधनीहरुबीचको पुँजीको अनुपात मिलान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। बोनस सेयर जारी र पुँजीको अनुपात मिलानपछिको व्यवस्थाअनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 
सभाले प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशनअनुसार समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। 
उक्त कम्पनीले बुक विल्डिङ विधिबाट सर्वसाधारणमा ६० लाख कित्ता आईपीओ विक्री गर्ने तयारी गरेको छ । गत माघ २ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभाबाट कम्पनीले आईपीओ विक्रीको प्रस्ताव पारित गरेको हो । 
कम्पनीले आईपीओ विक्रीका लागि कम्पनीले चैत ४ गते विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको थियो । त्यस्तै सहायक विक्री प्रबन्धकमा प्रभु क्यापिटल र एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीले नेपालको धितोपत्रको इतिहासमै पहिलो पटक लागू भएको यस विधिबाट ६० लाख कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्न लागेको हो । कुल कित्तामध्य संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता, उद्योग प्रभावित स्थानियका लागि ८ लाख कित्ता र कम्पनीका कर्मचारीसहित अन्य सर्वसाधारणमा २८ लाख कित्ता आईपीओ विक्री गर्ने कम्पनीले तयारी  गरेको छ ।
कम्पनी आन्तरिक मूल्यांकन तथा केही आधारहरु अध्ययन गर्दा प्रतिकित्ता सेयरको मूल्य ७५० रुपैयाँभन्दा बढी हुनेमा विश्वस्त रहेको छ। यद्यपि अन्तिम मूल्य भने संस्थागत योग्य लगानीकर्ताहरुद्वारा बोलकबोल विधिबाट निर्धारण हुने कम्पनीले जनाएको छ।
                         
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।