लगानी खबर, काठमाडौं- पछिल्लो समय सेयर बजार दिनहुँ नयाँ कीर्तिमानीतर्फ अघि बढिरहेको छ । पछिल्लो समय नेप्से परिसूचक र कारोबार रकम दुवैले दिनहुँजस्तो नयाँ कारोबार राख्दै आइरहेको छ । आज ( मंगलबार) सेयर बजारले पुनः नयाँ रेकर्ड राखेको छ । यसअघि आइतबार मात्रै नयाँ रेकर्ड राखेको बजारले आज पुनः नयाँ रेकर्ड राखेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ५३.४४ अंकले बढेर २९६०.१४ बिन्दुमा पुगेको छ । बजार बन्द हुँदाको यो बिन्दु हालसम्मकै सर्वाधिक हो । आज नेप्से परिसूचक १.८४ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ पनि परिसूचक ७.४७ अंकले बढेर ५२८.१० बिन्दुमा पुगेको छ ।
आज कूल २१७ वटा कम्पनीको ३ करोड ५२ लाख ४९ हजार ६१६ कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब ७२ करोड ९९ लाख २९ हजार ८७२ रुपैयाँको कारोबार भएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा मात्र उपसमूहकाे सेयर बढेको छ भने बाँकी ३ वटा उपसमूहकाे सेयर घटेको छ । आज फाइनान्स कम्पनीमा लगानीकर्ता आकर्षित भएका छन् ।
आज विकास बैंक र फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् भने लगानी समुहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
आज ३ दर्जन कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ । जसमध्ये ८ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज ग्रीन डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, सांग्रिला विकास बैंक, मुक्तिनाथ विकास बैंक र हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो । त्यसैगरी, कर्णाली डेभलपमेन्ट बैंक, प्रोगेशिभ फाइनान्स, मल्टीपपर्स फाइनान्स, साइन रेशुगा डेभलपमेन्ट बैंक लगायत कम्पनीको पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
यता मेरो माइक्रोफाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, सामुदायिक लघुवित्त, मिथिला लघुवित्त, १०.२५५ एनआईसी एसिया डिबेन्चर २०८३/८४, १२% आइसीएफसी फाइनान्स डिबेन्चर २०८३, सिभिल लघुवित्त, निर्धन उत्थान लघुवित्त, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।