Like us!
Follow us!

हवाई इन्धनको मूल्य घटेसँगै उडान भाडा पनि घट्यो

हवाई इन्धनको मूल्य घटेसँगै उडान भाडा पनि घट्यो

लगानी खबर, काठमाडौं - नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले उडान भाडादर घटाएको छ ।

इन्धनको मूल्य घटेसँगै सोमबारदेखि नै लागुहुने गरी कार्गा तथा चार्टर्ड उडानको भाडादर घटाइएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए । उनका अनुसार निगमले वाइडबडी विमान (एयरबस ३३०) मा साबिकको मूल्यको तुलनामा १३ प्रतिशत र न्यारोबडी (एयरबस ३२०) जहाजमा १५ प्रतिशतले शुल्क घटाएको छ ।

नयाँ मूल्य अनुसार अब वाइडबडी जहाजको चार्टर्ड तथा कार्गाे उडानको भाडादर प्रतिघण्टा अमेरिकी डलर १३ हजार ४६० कायम गरिएको छ । यसअघि उक्त जहाजको भाडादर १५ हजार ५२० डलर रहेको थियो । आयल निगमले वाइडबडी जहाजको भाडादरमा दुई हजार ६० डलर घटाएको हो ।

यसैगरी निगमसँग रहेको न्यारोबडी जहाजको भाडादर प्रतिघण्टा छ हजार ५८० बनाइएको छ । यसअघि उक्त जहाजको भाडादर सात हजार ७१० डलर रहेको थियो । निगमले उक्त जहाजको भाडादर एक हजार १३० डलरले घटाएको छ ।

महँगो हवाई इन्धनका कारणले नेपालको पर्यटन उद्योगमा परेको नकारात्मक प्रभाव तथा अन्तर्राष्ट्रियजगत्मा नेपालको प्रतिष्ठामा असर परेको भन्दै निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले हवाई इन्धनको शुल्क घटाउन आग्रह गर्दै आएका थिए ।

नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो । यसअघि अमेरिकी डलर ८९३ प्रतिकिलोलिटर रहेको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७१५ कायम गरिएको छ । निगमले एकैपटक प्रतिकिलोलिटर अमेरिकी डलर १७८ ले मूल्य घटाएको हो । रासस 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।